(तस्बीर : राजीव साह)
मलंगवा, ०६ मंसिर – बज्जिका भाषाका साहित्यकार सन्जय साह ‘मित्र’ लाई ‘कवि सदानन्द अन्तराष्ट्रिय बज्जिकासेवी पुरस्कार’ प्रदान गरिएको छ ।
आज सर्लाही सदरमुकाम मलंगवामा बज्जिका साहित्य समाज सर्लाहीले रौतहटका साहित्यकार साहलाई ५० हजार रुपैयाँ राशीको साहित्यिक पुरस्कार प्रदान गरेको हो । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहालगायत भएर साहलाई नगद ५० हजार र सम्मान–पत्रसहित सम्मान गरेका हुन् ।
सर्लाहीको विष्णु गाउँपालिका निवासी सेवानिवृत्त प्रहरी कर्मचारी महानन्द झाले आफ्ना दिवङ्गत दाई सदानन्द झाको स्मृतिमा ‘कवि सदानन्द अन्तराष्ट्रिय बज्जिकासेवी पुरस्कार’ स्थापना गरेका छन् । कार्यक्रममा नेपाल र भारतका साहित्यकार र सङ्गितकारलाई सम्मान–पत्र प्रदान गर्दै सम्मान गरिएको छ । साहित्यकारहरु सञ्जयराज महतो, साधना कृष्ण, वृद्धवीर लामा र मणिभुषणप्रसाद सिंहसहितलाई सम्मान गरिएको छ ।
त्यस्तै नेपाली र बज्जिका दुवै भाषामा प्रकाशित हुने मधेशदूत दैनिक पत्रिकालाई समेत सम्मान गरिएको बज्जिका साहित्य समाज सर्लाहीका सचिव मुकेश मिश्रले बताए ।

उक्त पत्रिकाका संचालक एवं जिल्लाका पुराना पत्रकार मनोज यादवलाई ‘कवि सदानन्द अन्तराष्ट्रिय बज्जिका पत्रिका सम्मान २०८२’ प्रदान गरिएको हो ।