logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम हरिपुर गोल्डकप हुने


  • उज्यालो अभियान

हरिपुर, ०६ मंसिर – सर्लाहीको हरिपुरमा मङ्सिर चौंथो सातादेखि प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नवसङ्घर्षशील युवा क्लबले हरिपुर नगरपालिकाको मुख्य प्रायोजनमा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । मङ्सिर २१ गतेदेखि हरिपुर नगरपालिका–२, सानो जगतपुरस्थित खेल मैदानमा प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले जानकारी दिए ।

वडाध्यक्ष थापाका अनुसार फुटबल प्रतियोगिता आयोजना गर्न हरिपुर २ नं. वडा कार्यालयबाट पाँच लाख रुपियाँ र हरिपुर नगरपालिका कार्यालयबाट चार लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । प्रतियोगिता सुरु हुन दुई साता मात्रै बाँकी रहेकाले आयोजकले तयारीको काम अघि बढाएको छ ।

आयोजक नवसङ्घर्षशील युवा क्लबका अध्यक्ष अमृत घिसिङले प्रतियोगितामा धेरैभन्दा धेरै टिमलाई सहभागी गराउन अहिले सबैतिर पत्राचार र सम्पर्क गर्ने काम गरिरहेको बताए । उनका अनुसार प्रतियोगिताको बिजेताले एक लाख ५० हजार र उपबिजेताले ७५ हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

हरिपुर नगरपालिकाभित्र पहिलो पटक ठुलो धनराशीको प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको नगरपालिका कार्यालयले जनाएको छ ।