बागमती, ०४ मंसिर – सर्लाहीको बागमतीमा एक जनाको मृत्यु हुने गरी दुर्घटना गराएको कार अझै फेला परेको छैन् ।
मंसिर २ गते राति पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका ११ रायमाझी चोक र पुरानो चौकी चोकको बिचमा नम्बर खुल्न नसकेको कारले ठक्कर दिँदा बागमती ४ प्रसाई टोलका ५० वर्षीय केशव शिवाकोटीको मृत्यु भएको थियो । दुर्घटना भएदेखि नै प्रहरीले कार र त्यसका चालकलाई निरन्तर खोजी गरिरहेको छ ।
सिसी टिभी फुटेजमा कारको धमिलो फोटो कैद भए पनि नम्बर प्लेट टल्किएको छ । राति नम्बर प्लेट टल्किएकाले दुर्घटना गराएर भागेको कारलाई पक्राउ गर्न प्रहरीलाई गाह्रो परेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले आफ्नो फेसबुक पेजमा कारको फोटो नै राखेर उक्त कार कँहिकतै देखे खबर गरिदिन आग्रह गरेको छ । सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले दुर्घटना गराएर फरार रहेको कारको खोजी जारी रहेको बताए ।
दुर्घटनामा एक जनाको मृत्यु भएको र कार तथा कारका चालक फरार रहेकाले तनाव उत्पन्न हुनसक्ने आंकलन गरी हिजो बिहान जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का आफै बागमती आएका थिए ।