logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पिपलदमारमा मानिस तथा पशुवस्तुका लागि शिविर सम्पन्न


  • उज्यालो अभियान

घारिबथान, ०३ मंसिर – ईश्वरपुर नगरपालिका–१२, पिपलदमारमा निःशुल्क स्वास्थ्य शिविरबाट करिव ५०० जना स्थानीयले लाभ लिएका छन् ।

जिल्लाकै दुर्गम क्षेत्र अन्तर्गत पर्ने पिपलदमारमा ईश्वरपुर नगरपालिका कार्यालयले आयोजना गरेको शिविरमा १३० जनाले जनरल स्वास्थ्य सेवा प्राप्त गरेका छन् । महिला प्रजनन स्वास्थ्य सेवा अन्तर्गत ६७ जना लाभान्वित भएका स्वास्थ्य शाखाले जनायो ।

जसमध्ये ३० जनामा पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण गर्दा १० जनामा ‘पोजेटिभ केस’ देखिएपछि उनीहरुको थर्मोकोगुलेसन विधिबाट तत्कालै उपचार गरिएको छ । अन्य महिलाहरुलाई समेत विशेषज्ञ चिकित्सकबाट प्रजननसँग जोडिएको स्वास्थ्य उपचार गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सुगेन्द्र महतोले उज्यालो अभियानसँग बताए ।

स्वास्थ्य शिविरमा १२७ जनाको आँखा परीक्षण गर्दा २६ जनामा मोतीविन्दु र दुई जनाको आँखामा मासु पलाएको समस्या देखिएको छ । ति बिरामीलाई यही मङ्सिर २४ गते बयलवासस्थित आँखा उपचार केन्द्रमा सञ्चालन हुने ‘अप्रेसन क्याम्प’मा शल्यक्रियाका लागि बोलाइएको छ । शिविरमा ७२ जना ज्येष्ठ नागरिक तथा सुत्केरीलाई च्यामनप्रास वितरणसहित २०४ जनालाई आयुर्वेद सेवा प्रदान गरियो ।

 

यस्तै पशु सेवा केन्द्र घारिबथानका पशु प्राविधिक केवेन्द्रप्रसाद कुशवाहाका अनुसार शिविरमा २४० परिवारले पशुवस्तुको उपचार तथा औषधिसमेत लिएका छन् ।

कार्यक्रममा ईश्वरपुर नगरपालिका–३, भक्तिपुर निवासी समाजसेवी सुनिता श्रेष्ठ आचार्यले पिपलदमार आधारभूत विद्यालयमा अध्ययनरत् १२७ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेकी छन् ।

नगरको दुर्गम क्षेत्रमा पर्ने पिपलदमारमा स्वास्थ्य शिविर सञ्चालनका लागि नगरप्रमुख मनोजकुमार आचार्य आफै स्वास्थ्यकर्मी, पशु प्राविधिक र अन्य कर्मचारी लिएर हिजो मंगलबार पिपलदमार पुगेका थिए ।