लालबन्दी, ०२ मंसिर – बालाचतुर्दशीको अवसरमा सर्लाहीका विभिन्न मठमन्दिर परिसरमा बत्ती बाल्नका लागि धमाधम तयारी भइरहेको छ ।
प्रत्येक वर्ष बालाचतुर्दशीको अवसर पारेर आफ्ना दिवङ्गत पितृको सम्झना गर्दै बत्ती बाल्ने र शतबीज छर्ने प्रचलन रहेको छ । त्यसका लागि सर्लाहीका हरेक मठमन्दिर परिसरमा तयारी गरिएको हो ।
पितृको नाममा बत्ती बाल्दा रातभर जाग्राम बस्ने गरिन्छ । चिसो बढ्दै गएकाले रातभर जाग्राम बस्ने महिला तथा अन्य व्यक्तिलाई सुरक्षित राख्न टेन्ट तथा पाल टाङ्ने, सरसफाई गर्ने र घेराबेरा गर्ने काम भइरहेको हो ।
लालबन्दीस्थित डुमडुमे मन्दिर परिसरमा बालाचतुर्दशीका लागि टेन्ट लगाउनेसहितका काम भइरहेको डुमडुमे देवालय परिसरका अध्यक्ष देविबन्धु थापाले जानकारी दिए । यो वर्षको बालाचतुर्दर्शी भोली बुधबार परेको छ ।
पितृको नाउमा आज साँझदेखि नै बत्ती बाल्न सुरु गरिन्छ । भोली बिहान शतबीज छरेर बालाचतुर्दशीको समापन गरिने छ ।
सर्लाहीमा प्रत्येक मठमन्दिरमा स्थानीय वासिन्दा र मन्दिर व्यवस्थापन समितिले बालाचतुर्दशीको तयारीका काम गरिरहेका छन् । बागमती नगरपालिका–११, कर्मैयाका स्थानीय दीपककुमार रानाभाटले बालाचतुर्दशीमा बत्ती बाल्ने तथा शतबीज छर्ने कार्यका लागि बागमती खोलापारी रौतहटको नुनथर क्षेत्र र सर्लाही दुवैतर्फ धमाधम तयारी भइरहेको उज्यालो अभियानसँग बताए ।
आफ्ना दिवङ्गत पितृको सम्झनामा बत्ती बाल्न सहरी तथा बजार क्षेत्रमा बस्ने व्यक्तिसमेत गाउँ फर्कने गरेका छन् ।
यस्तै बालाचतुर्दशीकै अवसरमा सर्लाहीको लालबन्दी, ईश्वरपुर, हरिवन, बागमती, बरहथवालगायत स्थानमा मेला लगाउने तयारी गरिएको हाम्रा संवाददाताले जनाएका छन् ।