logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सबैभन्दा बढी आयकर बुझाउने सगुन सहकारी सम्मानित


  • उज्यालो अभियान

लालबन्दी, ०१ मंसिर – लालबन्दी करदाता सेवा कार्यालय अन्तर्गत सबैभन्दा बढी आयकर बुझाउने सगुन बचत तथा ऋण सहकारी संस्था हरिवन सम्मानित भएको छ ।

१४ औँ राष्ट्रिय कर दिवसको अवसरमा करदाता सेवा कार्यालय लालबन्दीले आज सगुन सहकारीलाई सम्मान गरेको हो । आर्थिक वर्ष २०८०/८१ मा कार्यालयको कार्यक्षेत्र अन्तर्गतका करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवसको अवसर पारेर सगुन सहकारीलाई सम्मान गरिएको करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख एवं कर अधिकृत विकास कुमारले जानकारी दिए ।

करदाता सेवा कार्यालयले प्रदान गरेको सम्मान–पत्र संस्थाको तर्फबाट सञ्चालक समिति सदस्य सुशीलाकुमारी कटुवाल र सूचना अधिकारी निरोजकुमार दाहालले ग्रहण गरेका सहकारीका व्यवस्थापक रवीन्द्र रानाले बताए । सगुन सहकारी मधेश प्रदशमै उत्कृष्ट कारोवार गर्ने सहकारीको रुपमा परिचित छ ।

प्रदेश सरकारले समेत संस्थालाई यसअघि नै प्रदेशको उत्कृष्ट सहकारीको रुपमा सम्मान गरेको थियो ।

उता करदाता सेवा कार्यालय मलङ्गवाले समेत आफ्नो कार्यक्षेत्र अन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल भेनियर (प्लाई उद्योग) मलङ्गवालाई सम्मान गरेको छ । उक्त उद्योगका सञ्चालक मलङ्गवा नगरपालिका–४, निवासी नागेश्वर रायलाई करदाता सेवा कार्यालय मलङ्गवाकी प्रमुख रास्तीकुमारी यादवलगायत भएर सम्मान–पत्र प्रदान गरी सम्मान गरेका छन् ।

सर्लाहीमा रहेका दुईवटा करदाता सेवा कार्यालयमध्ये लालबन्दी कार्यालयले लालबन्दी, हरिवन, ईश्वरपुर, हरिपुर, बागमती र बरहथवा गरी छवटा पालिका तथा मलङ्गवामा रहेको कार्यालयले जिल्लाका बाँकी १४ वटा पालिकाका वासिन्दा तथा उद्योगी, व्यवसायीलाई सेवा प्रदान गर्दै आइरहेका छन् ।