ब्रम्हपुरी, २८ कात्तिक – सर्लाहीको ब्रहम्पुरी गाउँपालिकाका १६७ परिवारले दशकौँदेखि भोगचलन गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन् ।
नापी कार्यालय मलंगवाले आज एक कार्यक्रमको आयोजना गरी सो प्रमाणपत्र वितरण गरेको हो । कार्यक्रममा नापी कार्यालयका प्रमुख संजय मानन्धर, ब्रहम्पुरी गाउँपालिका अध्यक्ष राम पदारथ साह तेली, सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेल र वडाध्यक्ष श्याम बाबु साहले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका हुन् ।
५० वर्षदेखि भोगचलन गर्दै आएका भूमिहीनहरूले हालसम्म पनि लालपुर्जा पाएका थिएनन् । लालपुर्जा वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष साहले लामो समयसम्म अधिकार नपाएका जग्गाधनीलाई लालपुर्जा प्रदान हुनु गाउँपालिकाको लागि सौभाग्यको विषय भएको बताए ।
उनले जग्गा सम्बन्धी साना–मसिना विवाद आपसमा छलफल गरी समाधान गर्न समेत आग्रह गरे । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले सबै निकायको सामूहिक प्रयासका कारण लालपुर्जा वितरण सम्भव भएको भन्दै कर्मचारीहरूलाई सम्मान प्रदान गरे ।
उनले लालपुर्जा पाएपछि जग्गाधनीले बैंकबाट ऋण लिन, व्यवसाय विस्तार गर्न तथा आफ्नो जग्गामा आफ्नो हक स्थापित गर्न सहज हुने उल्लेख गरे । यस्तै नापी कार्यालयका प्रमुख मानन्धरले आफू कार्यालयको नेतृत्वमा आएपछि मात्रै करिब १ हजार लालपुर्जा वितरण गरिसकेको उल्लेख गर्दै सहयोग गर्ने सम्पूर्ण कर्मचारी र सरोकारवालाप्रति आभार व्यक्त गरे ।
उक्त लालपुर्जा वितरण सर्लाहीको साविक भेल्ही गाबिस ब्लक नं. ३९०, हाल त्रिभुवननगर १, २, ३ हालको ब्रहम्पुरी गाउँपालिका ४ का घरधुरीलाई लक्षित गरिएको हो। नापी कार्यालयका अनुसार सो क्षेत्रमा २८८ कित्ता जग्गा मध्ये १८५ कित्ता दर्ता भइसकेका र १०३ कित्ता दर्ता प्रक्रियामा छन्। ‘तेरो–मेरो निवेदन’ अन्तर्गत दर्ता भएका ६८ मध्ये २८ फछ्र्यौट भइसकेका छन् भने ४० प्रक्रियामा छन्। सोही क्रममा १६७ जनालाई लालपुर्जा वितरण गरिएको हो ।
७५ वर्षीय प्रह्लाद साह रौनियारले वर्षौंदेखि प्रमाण कागजका लागि धाएका दिनहरू आज टुंगिएको बताए । नापी कार्यालयका अनुसार सो क्षेत्रका घरबासीले ५ दशकभन्दा बढीदेखि भोगचलन गर्दै आएको जग्गाको नापजाँच, तथ्यांक अभिलेखीकरण र कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिएको हो ।