logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

किसानलाई ५० प्रतिसत अनुदानमा गहुँको बीउ वितरण


  • उज्यालो अभियान

हरिपुर, २८ कात्तिक – सर्लाहीको हरिपुर नगरपालिकाले आफ्नो पालिकाभित्रका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न सुरु गरेको छ ।

नगरपालिकाको कृषि शाखाका नायव प्राविधिक सहायक अम्बिका मैनालीका अनुसार किसानलाई ५० प्रतिसत अनुदानमा गहुँको बीउ वितरण गर्न सुरु गरिएको हो । नगर उपप्रमुख निलमदेवी राय यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत विनय पौडेलले आज अनुदानमा गहुँको बीउ वितरण कार्यको शुभारम्भ गर्नुभएको हरिपुर नगरपालिकाले जनाएको छ ।

कार्यालयले कृषि सामग्री कम्पनि लिमिटेडसँग ३२ लाख एक हजार ६०० रुपियाँमा ९२० बोरा गहुँको बीउ खरिद गरेको छ । कृषि शाखाका नायब प्राविधिक मैनालीले बिजय र एनएल ९७१ गरी दुई जातका गहुँको बीउ वितरण गरिएको जानकारी दिइन् ।

नगरपालिका कार्यालयले यसअघि नै किसानसँग माग सङ्कलन गरेर गहुँको बीउ खरिद गरी वितरण गर्न सुरु गरेको हो ।

अनुदानमा बाँडिएको गहुँको बीउ चार कठ्ठा बराबर एक किलो छर्दा हुने कृषि प्राविधिकले बताएका छन् । हरिपुर नगरपालिकाले किसानलाई खेतीको समयमा वर्सेनि यसैगरी धान र गहुँको बीउ वितरण गर्दै आइरहेको छ ।