मलंगवा, २७ कात्तिक – सर्लाहीका उद्योगी, व्यवसायीसँग आज प्रमुख जिल्ला अधिकारी रामुकाज कडरियाले अन्तरक्रिया गरेका छन् ।
उनले सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा बोलाएर जिल्लाभरका उद्योग वाणिज्य संघका अध्यक्ष, संघका अन्य प्रतिनिधि र उद्योगी, व्यवसायीसँग व्यापार, व्यवसायका सन्दर्भमा अन्तरक्रिया गरेका हुन् । जिल्लामा औद्योगिक एवं व्यावसायिक विकासका लागि शान्ति सुरक्षा, औद्योगिक विकासमा देखिएका समस्या र समाधानको विषयमा अन्तरक्रिया भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अन्तरक्रियामा उद्योगी, व्यवसायीले व्यापार सहजीकरणका लागि उठाएका विभिन्न विषय तथा मागको सम्वन्धमा स्थानीय स्तरमा समाधान हुने समस्या तत्काल समाधान गर्ने र माथिल्लो निकायबाट समाधान हुने समस्याको हकमा सम्वन्धित निकायमा लेखी पठाउने निर्णय भएको छ । यस्तै प्रतिस्पर्धापूर्ण बजार कायम गर्न जिल्ला सुरक्षा संयन्त्र, सरकारी कार्यालय, उद्योग वाणिज्य संघलगायत सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने निर्णय भएको छ ।
अन्तरक्रियामा जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो ।