logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

करदाता सेवा कार्यालय तत्काल बन्द नहुने, निरन्तर सेवा प्रवाह


  • उज्यालो अभियान

लालबन्दीस्थित करदाता सेवा कार्यालय । (तस्बीर : वुद्धबहादुर/उज्यालो अभियान)

वुद्धबहादुर विश्वकर्मा/लालबन्दी, २६ कात्तिक – सर्लाहीमा रहेका करदाता सेवा कार्यालय लालबन्दी र मलङ्गवाले सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गरिरहेका छन् ।

सङ्घीय सरकारले देशैभरका करदाता सेवा कार्यालय खारेज गर्ने प्रक्रिया अघि बढाइएको भन्दै तीन दिनअघि सूचना जारी गरेको थियो । करसम्वन्धी अधिकांश सेवा डिजिटल प्रणालीबाटै प्राप्त गर्न सकिने भएपछि करदाता सेवा कार्यालयले प्रदान गर्ने सेवा अब स्थानीय तह र कोष तथा लेखा नियन्त्रक कार्यालय (कालेनिका) बाट प्रदान गर्ने तयारी अघि बढाइएको उक्त सूचनामा उल्लेख छ ।

कारदाता सेवा कार्यालय खारेज गर्ने तयारीबारे आन्तरिक राजस्व विभागको वेबसाइडमा सूचना प्रकाशित भए पनि कार्यालयको सेवा के गर्ने भन्ने विषयमा औपचारिक रुपमा कुनै पत्र प्राप्त भएकाले निरन्तर सेवा प्रदान गरिहेको लालबन्दी र मलङ्गवामा रहेको करदाता सेवा कार्यालयले जनाएका छन् । करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख एवं कर अधिकृत विकास साहले यसअिघ जे जसरी सेवा दिइँदै आइएको थियो, त्यसलाई निरन्तरता दिइरहेको उज्यालो अभियानसँग बताए ।

उनले कार्यालयबाट स्थायी लेखा नम्बर जारी गर्ने, करचुक्ता प्रमाण पत्र प्रदान गर्नेलगायतका सेवा साबिकै झैँ प्रदान गरिरहेको जानकारी दिए । विभागबाट पत्र तथा निर्देशन प्राप्त नहुन्जेल निरन्तर सेवा प्रदान गरिरहने जिल्लास्थित दुवै करदाता सेवा कार्यालयले जनाएका छन् ।

करदाता सेवा कार्यालय मलङ्गवाका प्रमुख एवं कर अधिकृत रास्तीकुमारी यादवले अर्को व्यवस्था नहुन्जेल आफूहरुले यथावत् ढङ्गले नै सेवा प्रदान गरिरहने उज्यालो अभियानसँग बताईन् ।

देशभरका करदाता सेवा कार्यालय बन्द हुने सूचना आफूहरुले पनि विभागकै वेबसाइडबाट थाहा पाएको तर त्यसबाहेक कुनै प्रकारको पत्र प्राप्त नभएकाले खुरुखुरु काम गरिरहेको यादवले बताएकी छन् ।