logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

समाजसेवी प्रधानद्वारा रेडक्रसलाई १ लाख ५ हजार सहयोग


  • उज्यालो अभियान

लालबन्दी, २४ कात्तिक – सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्ज निवासी समाजसेवी सुरेन्द्र प्रधानले नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीलाई १ लाख ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

बयोवृद्ध प्रधान आफै हिजो दिउँसो लालबन्दी नगरपालिका ५ जरुवापानीस्थित नेपाल रेडक्रस सोसाइटीको कार्यालयमा उपस्थित भएर नगद सहयोग प्रदान गरेका हुन् । उक्त रकम प्रदान गर्ने प्रधानलाई संस्थाको नियम बमोजिम ‘एयस्कर सदस्य’ बनाएर शीलालेखमा नामसमेत उल्लेख गरिने संस्थाका सचिव भरतप्रसाद गौतमले जानकारी दिए ।

संस्थामा यसअघि एक लाख भन्दा बढी सहयोग गरी लालबन्दी नगरपालिका ७ का स्वर्गिय नारायणराज जोशी, लालबन्दी ७ का ध्रुवप्रसाद घिमिरे, लालबन्दी ७ कै भानुभक्त बराल र लालबन्दी २ निवासी भवानीकुमारी कोइराला रेडक्रस उपशाखाको एयस्कर सदस्य बनिसकेका छन् ।

लालबन्दी रेडक्रसले जरुवापानीमा सामुदायिक परोपकार आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । आँखा उपचार केन्द्रलाई आगामी दिनमा अस्पताल बनाउने संस्थाले लक्ष्य लिएको छ ।

आँखा नै सबैको संसार रहेको र आँखा उपचार केन्द्र संचालन गरेर यस क्षेत्रका स्थानीयलाई सेवा प्रदान गरिरहेको रेडक्रसको उत्थानका लागि आर्थिक सहयोग गरेको समाजसेवी प्रधानले बताए । सहयोगीदाता प्रधानलाई रेडक्रस लालबन्दीका सभापति ध्रुवप्रसाद घिमिरेसहित अन्य पदाधिकारीले फूलमाला, खादा र अविरसहित स्वागत तथा सम्मान गरेका छन् ।