logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

जेलरलाई इलाका प्रशासन कार्यालयको जिम्मेवारी


  • उज्यालो अभियान

हरिवन, २४ कात्तिक – नागरिकतामा हस्ताक्षर गर्ने कार्यालय प्रमुख नै नभएपछि इलाका प्रशासन कार्यालय हरिवनमा कारागारका जेलरलाई प्रमुख बनाएर खटाइएको छ ।

अर्को व्यवस्था नहुन्जेलका लागि कारागार कार्यालय मलङ्गवामा जेलरका रुपमा कार्यरत शाखा अधिकृत विशाल चौधरीलाई इलाका प्रशासन कार्यालय हरिवनमा पठाइएको हो । इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख एवं शाखा अधिकृत राजकुमार थापा कात्तिक ५ गतेदेखि अनिवार्य अवकास भएसँगै कार्यालय प्रमुखविहीन बनेको थियो ।

उत्तरी भेगको हरिवन, बागमती, ईश्वरपुर र लालबन्दी नगरपालिकाका स्थानीयलाई नागरिकता जारी गर्ने तथा अन्य सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालय हरिवनमा केही दिन सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयबाट शाखा अधिकृत कृष्णदेव रायलाई खटाइएको थियो । जिल्ला प्रशासन कार्यालयमा रहेका दुई जना शाखा अधिकृतमध्ये रायलाई हरिवन पठाउँदा जिल्ला प्रशासन कार्यालयमै शाखा अधिकृतको अभाव खड्किएपछि कामको चाप नरहेको भन्दै कारागारका जेलरलाई हरिवनमा पठाइएको हो ।

मलङ्गवा कारागारमा तत्कालका लागि नायब सुब्बालाई निमित्त जेलरको जिम्मेवारी दिइएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेलले इलाका प्रशासन कार्यालय हरिवनमा नयाँ शाखा अधिकृत पठाइदिन गृह मन्त्रालयमा निरन्तर पहल गरिरहेको उज्यालो अभियानसँग बताएका छन् ।

उनले नागरिकको काम नरोकियोस् भनेर हरिवनमा तत्काललाई जेलर खटाइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा समेत प्रशासकीय अधिकृतको अभाव भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
दुई जना शाखा अधिकृत भर्खरै अन्यत्र सरुवा भएर गएका र उनीहरुको ठाउँमा अर्को कर्मचारी नपठाउँदा नागरिकता प्रदान गर्नेदेखि अन्य काम गर्न धउधउ परिरहेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।

सर्लाहीमा इलाका प्रशासन कार्यालय बरहथवासमेत लामो समयदेखि नायब सुब्बाको भरमा संचालन भइरहेको छ ।