logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

गोली लागेर छोरा ढल्यो, वृद्ध दम्पत्तिले सहारा गुमाए


  • उज्यालो अभियान

मनिषबहादुर बुढाथोकी/लालबन्दी, २४ कात्तिक – जेनजी आन्दोलनमा गएको भदौ २४ गते प्रहरीको गोली लागेर कान्छो छोरा देवकुमार सुवेदीको मृत्युपछि उनका बुवा उजिरबहादुर सुवेदी र आमा यशोदाकुमारी सुवेदी अहिले सहाराविहीन बनेका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगन्ज शान्ति टोलका सहीद देवकुमारको घरमा अहिले वृद्ध अवस्थाका ८५ वर्षीय बुबा उजिरबहादुर र आमा ६७ वर्षीया यशोदाकुमारी मात्रै छन् । २७ वर्षीय देवकुमारको जेनजी आन्दोलनको क्रममा काठमाडौंको कालिमाटीमा गोली लागेर मृत्यु भएपछि श्रीमती पार्वती र छोरी सलोनी काठमाडौंमा कोठा गरेर बस्दै आएका छन् ।

देवकुमारमा जेठो दाई डेककुमार र माइलो दाई इन्द्रजित पोखरामा बस्छन् । साइलो दाई भानुभक्त भने काठमाडौंमा बस्दै आएका छन् ।

बुबा उजिरबहादुर र आमा यशोदाकुमारीलाई कान्छो छोरा देवकुमारले नै पालनपोषण गर्दै आएका थिए । अन्य छोराबुहारीलाई सुवेदी दम्पत्तिले यसअघि नै अङ्शबण्डा गरेर दिइसकेका छन् ।

८५ वर्षीय उजिरबहादुर दमको बिरामी छन् । राम्रोसँग कानसमेत नसुन्ने उनी सहारा दिने छोराको मृत्युपछि अझैसम्म पनि राम्रोसँग होसको कुरा गर्दैनन् ।

छोराको मृत्युपछि आफूहरुको जीवन नै अन्धकारमय बनेको उजिरबहादुरको दुःखेसो छ । “अरु तीन भाई छोरा छुट्टिएर बसिसकेकाले कान्छो छोराले नै पालनपोषण र बिरामी पर्दा औषधि उपचार गर्दै आएको थियो तर अब छोरा नै रहेन,” गहभरी आसु पार्दै उजिरबहादुरले भने “मेरो छोराले अकालमा ज्यान गुमाउनुपर्यो । त्यसले के नै गल्ती गरेको थियो होला र गोली हानेर मार्नै पर्ने । अब हामी बुढाबुढीलाई सहारा दिने कोही छैन् ।”

जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही १५ लाख रुपियाँ प्रदान गर्ने निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालय सर्लाहीले केही साताअघि उक्त रकम देवकुमारीकी श्रीमती पार्वतीलाई प्रदान गरिसकेको छ । श्रीमानको काजकिरिया सकेर उक्त रकम बुझेपछि पार्वती छोरीलाई लिएर काठमाडौंमा बस्दै आएकी छन् ।

देवकुमारकी आमा यशोदाकुमारीले छोराको मृत्युपछि अत्यास लागिरहेको बताइन् । आगामी माघमा घर आएर छानो छाउने सपना देखाएको छोरा गुमाएको पीडा सुनाउन उनलाई निकै गाह्रो भयो ।

देवकुमारको टालीले छाएको तीनकोठे पक्की घर छ । उनले भनिन्, “घरमा गतिलो छानो र झ्याली ढोका छैनन्, आमा माघमा आएर सबै घर बनाउँछु भन्थ्यो तर छोरा नै रहेन ।”

उजिरबहादुरको सामाजिक सुरक्षा भत्ता आउँछ । सुवेदी परिवारले सिन्धुलीको दुधौलीमा रहेको केही कठ्ठा जग्गामा भाडामा दिएर त्यसबाट आउने पैसाले गुजारा धानिरहेका छन् ।

छोरा देवकुमारले काठमाडौंस्थित कालिमाटी तरकारी बजारमा सुरक्षा गार्ड बस्ने र केही दिनदेखि आफै तरकारी व्यापरसमेत गर्न थालेर परिवारको गुजारा टार्दै आएका थिए ।

लालबन्दी नगरपालिका ५ का वडाध्यक्ष मीनप्रसाद ढुंगेल (रामु) का अनुसार केही वर्षअघि सिन्धुलीबाट बसाइसराई गरेर आएका सुवेदी दम्पत्तिको अवस्था अहिले दयनिय छ । उनले भने, “सरकारले प्राप्त गर्ने निर्णय गरेको रकम त पाउनु भयो तर घरमा कोही पनि नहुँदा वृद्धवृद्धाको कष्टकर छ ।”