मलंगवा, २३ कात्तिक – सदरमुकाम मलंगवा नगरपालिका कार्यालयमा आजदेखि उपप्रमुख र वडाध्यक्षहरुले नै अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
विभिन्न १० बुँदे मागसहित उपप्रमुख सकुन्तलादेवी साह र वडाध्यक्षहरुले नगरपालिकाको स्वास्थ्य र राजस्व शाखाबाहेक नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित र अन्य शाखाहरुमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
आन्दोलित उपप्रमुख र वडाध्यक्षहरुले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिकालगायतको सामाजिक सुरक्षा भत्ता तुरुन्त निकासा गर्नुपर्ने, शिक्षक, कर्मचारीलाई तलब दिनुपर्ने, नगरपालिकामा बिचौलियाको हालिमुहाली रोक्नुपर्नेलगायतको माग राखेका छन् ।
मलंगवा नगरपालिकाको विवाद सुल्झिनुका साटो थप पेचिलो बन्दै गइरहेको छ ।