पश्चिम धनकौल स्थित अन्नपूर्ण चिनी उद्योग । (तस्बिर : उज्यालो अभियान)
बरहथवा, २३ कात्तिक – सर्लाहीको पश्चिम धनकौलस्थित अन्नपूर्ण चिनी मिलअगाडि आज उखु किसानले प्रदर्शन गर्दै छन् ।
उद्योगले दिनुपर्ने पुरानो बक्यौता रकम चुक्ता गर्न र सरकारले दिन बाँकी रहेको गत वर्षको बाँकी ३५ रुपैयाँसमेत उपलब्ध गराउन माग गर्दै उखु किसान भेला भएर प्रदर्शन गर्न लागेका हुन् । अन्नपूर्ण चिनी उद्योगले बदमासी गरेर विभिन्न वर्षको पुरानो बक्यौता रकम दिन बाँकी नै रहेको उखु किसानले गुनासो गर्दै आइरहेका छन् ।
धनकौल गाउँपालिका २ का उखु किसान रामकल्याण यादवले कयौं पटक उद्योगपतिसँग हारगुहार गर्दा पनि पुरानो बक्यौता रकम नदिएको गुनासो गरेका छन् । अघिल्ला उद्योगपतिदेखि कै उखु बेचेको पैसा लिन बाँकी रहेको उखु किसानको भनाइ छ ।
इन्दुशंकर चिनी उद्योग हरिवनबाट किसानले सहजै उखुको पैसा पाएपनि अन्नपूर्ण चिनी मिल धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहबाट किसानलाई उखु बेचेको पैसा लिन मुस्किल पर्दै आइरहेको छ ।