logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीमा नेपाल–भारत सीमा नाका आज बिहानैदेखि ‘सिल’


  • उज्यालो अभियान

भारतीय सिमा स्थित मुख्य मलंगवा नाका । (फाईल तस्बिर)

मलंगवा, २२ कात्तिक – सर्लाहीमा नेपाल–भारत सीमा नाका आज बिहान ७ बजेदेखि बन्द गरिएको छ ।

भारतको बिहार राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचन हुने भएकाले शान्ति सुरक्षाको व्यवस्थापनका लागि सिमा नाका ‘सिल’ गरिएको हो । बिहार राज्यमा नोभेम्बर ११ तारिख अर्थात् आगामी मङ्गलबार विधानसभा निर्वाचन हुँदै छ । सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवबहादुर चन्दले आज बिहान ७ बजेदेखिसीमा नाका बन्द गरिएको भनी भारतीय पक्षले जानकारी गराएको अहिले बिहान उज्यालो अभियानसँग बताए ।

एसपी चन्दका अनुसार नेपाल–भारत सीमा नाका अब आगामी मङ्गलबार साँझ भारतको विधासभा निर्वाचन अन्तर्गत मतदान सकिएपछि मात्रै खुल्ने छ । यो अवधिमा आकस्मिकबाहेकका सम्पूर्ण प्रकारको आवागमन पूर्णरुपमा ठप्प रहने छ ।

जटिल प्रकृतिका बिरामीको हकमा भने भारतमा उपचार गर्न जानुपर्दा भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरी आउजाउको व्यवस्था मिलाउन समन्वय गरिने सशस्त्र प्रहरीका जिल्ला प्रमुख चन्दको भनाइ छ । सर्लाही तराई मधेशका विभिन्न जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरेर सीमा बन्द भएकोबारे जानकारी गराएका छन् ।

नेपाल वा भारत जहाँ निर्वाचन हुँदा पनि यसरी केही दिनका लागि सीमा नाका सिल गर्ने परिपाटी रहेको छ । सीमा नाकामा कडाइका लागि नेपालमा निर्वाचन हुँदा भारतीय र भारतमा निर्वाचन हुँदा नेपाली सुरक्षाकर्मीले साथ दिँदै आएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुकाज कडरियाले मित्र राष्ट्रमा हुने लागेको निर्वाचनलाई शान्तपूर्ण बनाउन जिल्लास्थित सुरक्षा निकायले पनि सीमामा आवागमन रोक्नेसहित अन्य काममा सहयोग गर्ने उज्यालो अभियानसँग बताए ।