logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

आठौं वडाध्यक्ष कप : उपाधिका लागि वडा नं. ११ र १३ ले खेल्दै


  • उज्यालो अभियान

पत्थरकोट, २२ कात्तिक – लालबन्दी नगरस्तरीय आठौं वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज वडा नं. ११ हीरापुर र वडा नं. १३ पत्थरकोटले खेल्दै छन् ।

फाइनल खेल दिउँसो २ बजेपछि लालबन्दी १३ पत्थरकोट छेडास्थित लखन्देही खोला किनारमा रहेको चौरमा सुरु हुने छ । खेलअघि नै मध्यान्हबाट प्रतियोगिताको समापन समारोह प्रारम्भ गरिने वडा नं. १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यले जानकारी दिए । वडा नं. ११ ले वडा नं. ३ जब्दी र वडा नं. १३ ले वडा नं. १६ लाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपबिजेताले ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडेल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा यसअघि नै वडा नं. ३ लाई तेस्रो भएको घोषणा गरिसकिएको छ ।

आयोजक वडा नं. १३ सँगको सेमिफाइनल खेलमा आफूले गरेको गोललाई रेफ्रीले अफसाइड दिएपछि चित्त दुखाएको वडा नं. १६ ले तेस्रो स्थानको लागि हुने प्रतिस्पर्धामा सहभागी नभएपछि आयोजकले वडा नं. ३ लाई तेस्रो भएको घोषणा गरिएको हो । वडा नं. ३ लाई पनि आज तेस्रो पुरस्कार नगद ३३ हजार ३३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने वडाध्यक्ष वैद्यले बताए ।

लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा वडा नं. १३ ले आयोजना गरेको वडाध्यक्ष कपमा लालबन्दी नगरपालिकाभित्रका १७ वटै वडाले सहभागिता जनाएका थिए ।