बरहथवा, २१ कात्तिक – सर्लाहीको बरहथवामा सभाहललाई पार्टेसन गरेर नगरपालिका कार्यालय सञ्चालन गर्न सुरु गरिएको छ ।
भदौ २४ गते जेनजी आन्दोलनको क्रममा बरहथवा नगरपालिका–५, स्थित बजारमा रहेको नगरपालिका कार्यालय भवन आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको थियो । तत्कालका लागि आगजनी भएको नगरपालिका कार्यालयबाट करिव ३०० मिटर उत्तरमा रहेको सभाहललाई पार्टेसन गरी कार्यालय सञ्चालन गरिएको हो ।
यसअघि नगरसभा गर्दा तथा अन्य कार्यक्रम गर्दा प्रयोग हुने सभाहललाई पार्टेसन गरेर नगरपालिका कार्यालय सञ्चालन गरिएको नगरप्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिइन् । जेनजी आन्दोलनको क्रममा नगरपालिका मातहतको उक्त सभाहलमा आगजनी र तोडफोड हुन नपाउँदा सुरक्षित रहेको थियो ।
सभाहललाई पार्टेसन गरेर नौवटा कोठा निकालिएको नगरप्रमुख कटुवालले बताइन् । अली ठुलो कोठामा दुई/तीन वटा शाखा राखेर जसोतसो नगरपालिका कार्यालयको सम्पूर्ण सेवा सुचारु गरिएको प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले जानकारी दिए ।
स्थानीय मदन झाले प्रदान गरेको १२ कठ्ठा जग्गामा नगरपालिका कार्यालयले दुई वर्षअघि सभाहल निर्माण गरेको थियो । उक्त सभाहल नै अहिले असहज परिस्थितिमा नगरपालिका कार्यालय सञ्चालन गर्न काम लागेको हो ।
जेनजी आन्दोलनमा कार्यालय भवन, भित्र रहेका कागजात तथा अन्य सरसामग्री र सवारी साधन सम्पूर्ण जलेर ध्वस्त हुँदा केही दिन बरहथवा नगरपालिकाको कामकाज नै ठप्प भएको थियो । करिव दुई सातापछि जलेको नगरपालिका कार्यालय भवनमा नै दाताले प्रदान गरेको दुई थान कम्प्युटरबाट आंशिक सेवा प्रारम्भ गरिएको थियो ।
नगरप्रमुख कटुवालले तत्काल पार्टेसन गरिएको सभाहलबाटै सेवा दिइने र जलेर क्षतिग्रस्त नगरपालिकाको प्रशासनिक भवनको मर्मत सम्भारसमेत अघि बढाइने उज्यालो अभियानसँग बताईन् ।