प्रतिकात्मक तस्बिर ।
कविलासी, २१ कात्तिक – सर्लाहीको कविलासी नगरपालिका–६, मदनपुर बजार नजिक गएसाँझ ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । सलेमपुर–मदनपुर–बरहथवा सडक अन्तर्गत मदनपुर बजारदेखि ५०० मिटर पूर्व सलेमपुरबाट बरहथवातर्फ जाँदै गरेको ज. १ त ६२०३ नम्वरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको बा. ४७ प ९८९२ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारको मृत्यु भएको प्रहरीले जनाएको छ । निधार, हातको कुहिनो र तिघ्रामा चोट लागेर गम्भीर घाइते बरहथवा नगरपालिका–७, बस्ने १९ वर्षीय राजु ठाकुर लोहारलाई प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपश्चात गएराति नै राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंतर्फ रेफर गरिएको छ ।
ठाकुर मोटरसाइकलको पछाडि सवार थिए । दुर्घटनापछि ट्याक्टरलाई इलाका प्रहरी कार्यालय हरिपुरमा ल्याएर राखिएको छ । चालक भने आज बिहानसम्म फरार नै रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक विन्देश्वर यादवले दुर्घटनास्थल एकान्त ठाउँमा रहेको र प्रत्यक्षदर्शीसमेत कोही नरहेकाले दुर्घटनाबारे थप अनुसन्धानमा समस्या परेको बताए । इन्स्पेक्टर यादवका अनुसार फरार रहेका ट्याक्टर चालकको खोजी तीव्र पारिएको छ ।
दुर्घटनापछि असहजस्थित सिर्जना हुन सक्ने आँकलन गरी प्रहरी चौकी हेमपुर पचगछियाबाट असइको नेतृत्वमा चार जना, इलाका प्रहरी कार्यालय हरिपुरबाट इन्स्पेक्टरको नेतृत्वमा नौ जना, इलाका प्रहरी कार्यालय चक्रघट्टाबाट इन्स्पेक्टरको नेतृत्वमा पाच जना र जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट समेत इन्स्पेक्टरको नेतृत्वमा सात जना गरी ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।