२१ औँ पटक रक्तदान गर्दै लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष राजकुमार न्यौपाने ।
लालबन्दी, २० कात्तिक – सर्लाहीको लालबन्दीमा आज ६८ जनाले रक्तदान गरेका छन् ।
लालबन्दीमा नियमित रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेका लायन्स क्लब लालबन्दी सिटी र लालबन्दी सिटी लियो क्लबले संयुक्त रुपमा आज दिनभर लालबन्दी ७ स्थित एनसेल सप अगाडि रक्तदान कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रममा सरिक भई ६८ जनाले रक्तदान गरेका लायन्स क्लब लालबन्दी सिटीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।
रक्तदान कार्यक्रमको अगुवाई गर्दै आएका न्यौपाने आफैले आज २१ औँ पटक रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम संचालन गर्न लालबन्दी ९ बस्तीपुरस्थित आइडिएल को–एड एकेडेमीले सह–आयोजकको रुपमा सहयोग गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी जनकपुर शाखासँग प्राविधिक सहयोग लिएर रक्तदान कार्यक्रम सम्पन्न गरिएको लायन्स क्लब लालबन्दी सिटीका अध्यक्ष रेवन्तराज तिमल्सिनाले बताए ।
लालबन्दीमा लायन्स क्लबले यसरी छ महिना वर्षदिनमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।