पत्थरकोट, १९ कात्तिक – सर्लाहीको लालबन्दी नगरपालिका–१३, पत्थरकोट छेडामा जारी आठौं नगर स्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज ४ वटा टिम प्रतिस्पर्धामा उत्रदैँ छन् ।
पहिलो सेमिफाइनल खेलमा वडा नं. ३ ले वडा नं. ११ को सामना गर्ने छ । दोस्रो सेमिफाइनल खेलमा वडा नं. १६ ले आयोजक वडा नं. १३ सँग खेल्नुपर्ने छ ।
आजको बिजेता दुई टिमले प्रतियोगिताको उपाधिका लागि २२ गते शनिबार फाइनल खेल्ने छन् । आज पराजित टिमले भने तेस्रो स्थानका लागि भोली प्रतिस्पर्धा गर्ने लालबन्दी १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यले जानकारी दिए । उनका अनुसार फाइनल खेलअघि २१ गते शुक्रबार प्रतियोगिता अन्तर्गत कुनै पनि खेल नरहेकाले हरिवन र लालबन्दी भेट्रानबीच फुटबल खेल राखिएको छ ।
लालबन्दी नगरपालिका कार्यालयको सहयोगमा लालबन्दी वडा नं. १३ ले आयोजना गरिरहेको प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १ सय ११, उपबिजेताले ५५ हजार ५ सय ५५ र तेस्रो हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने वडाध्यक्ष वैद्यले जानकारी दिएका छन् ।