बागमती नगरपालिकाको कार्यालय । (फाइल तस्बीर)
बागमती, १८ कात्तिक – सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा कात्तिक स्नान गर्न आउनेको आज दिउँसोदेखि नै अत्यधिक घुइँचो लागेको छ ।
बागमती नदीमा भोली बुधबार कात्तिक स्नानव्रत अर्थात् पूर्णिमाका दिन स्नान गर्न विभिन्न जिल्लाबाट ठुलो सङ्ख्यामा मानिस बागमती आइपुगेका हुन् । बागमती नगरपालिका–११, कर्मैयाका स्थानीय हरिप्रसाद पुडासैनीले कात्तिक स्नान गर्न वर्सेनि ठुलो सङ्ख्यामा विभिन्न जिल्लाबाट मानिस आउने गरेका जानकारी दिए ।
पूर्वपश्चिम राजमार्गको सर्लाही, रौतहट र बारा खण्डमा बागमतीमा स्नानका लागि आएकाहरु सवार मोटरसाइकल, ट्याक्टर, बसलगायतका सवारी साधन आज दिनभर बाक्लो मात्रामा देखिएका छन् । कात्तिक स्नानकै अवसरमा बागमती नगरपालिका–१२, स्थित बागमती नदी किनारमा ऐतिहासिक मेलासमेत लाग्दै आएको छ ।
स्थानीयवासी पुडासैनीका अनुसार पहिलेको तुलनामा पछिल्ला वर्ष बागमतीमा स्नान गर्न र मेला भर्न आउने घटेका छन् । विगत दुई/चार वर्षदेखि मानिसको चहलपहल घटेकोमा यो वर्ष पुनः मानिसको उपस्थिति बढेको पाइएको पुडासैनीको भनाइ छ । पहिले जस्तो धाँमीझाँक्री उफ्रदै आउने परम्परा भने लोप भएको स्थानीयले बताएका छन् ।
बागमतीमा स्नान र मेला भर्नका लागि ठुलो सङ्ख्यामा मानिस आएपछि प्रहरीले सुरक्षा सावधानी बढाएको छ । कात्तिक स्नानस्थल र मेला लाग्ने ठाउँमा बसेका स्थानीयको बागमतीस्थित इलाका प्रहरी कार्यालय कर्मैया र इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी परिचालन गरी सुरक्षा गस्ती हुने भएको छ ।
हरिवनका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले मानिसको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै सुरक्षा प्रवन्ध मिलाइएको बताए ।
मेलालाई शान्तपूर्ण बनाउन स्थानीयले समेत मेला आयोजक समिति गठन गरेर आवश्यक तयारी गरेका छन् ।