लालबन्दी, १३ कात्तिक – लालबन्दी नगरपालिका ७ लालबन्दी बजारमा रहेको जानकी माध्यमिक विद्यालयको अक्षयकोषमा थप १ लाख ५१ हजार रुपियाँ सहयोग प्राप्त भएको छ ।
लालबन्दी ७ कै उमेश ढुंगानाले स्व. बुवा रेणुकान्त र आमा सरिताको सम्झनामा विद्यालयको अक्षयकोषमा उक्त रकम सहयोग गरेका हुन् । अक्षयकोषको रकम बैंकमा मुद्धती खाता खोलेर जम्मा गर्ने गरिएको र जम्मा गरिएको रकमबाट प्राप्त हुने ब्याजले जेहेन्दार, गरिव, विपन्न र सीमान्तकृत विद्यार्थीको अध्ययनमा सहयोग गर्ने उद्देश्य रहेको विद्यालयका प्रधानाध्यापक हीरालाल महतोले उज्यालो अभियानसँग बताए ।
अक्षयकोषमा धेरैभन्दा धेरै रकम जुटाउन समाजसेवी शालिग्राम लम्सालको संयोजकत्वमा समिति गठन भएको विद्यालयले जनाएको छ ।
उक्त समितिकै पहलमा यसअघि लालबन्दी ७ निवासी ऋषि सुवेदीले एक लाख एक हजार र पूर्व व्यवस्थापन समिति तथा विद्यालय अगाडि बाटो ढलान गर्दा गठन गरिएको बाटो ढलान समितिको तर्फबाट एक लाख १५ हजार सहयोग प्राप्त भइसकेको विद्यालयका प्रधानाध्यापक महतोले बताए ।