logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

साझा बन्यो छठपर्व, व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व सकाए


  • उज्यालो अभियान

रितिक यादव/लालबन्दी, ११ कात्तिक – सर्लाहीमा छठपर्व साझा पर्व बन्दै गएको छ ।

दक्षिणवर्ती क्षेत्रमा मात्रै मनाइने छठपर्व पछिल्ला वर्षहरुमा सबैभेगमा मनाउन थालिएको छ । चुरेवर्ती भेगमा समेत हर्षोउल्लासपूर्वक पर्व मनाउन थालिएको छ ।

व्रतालुले नजिकको खोला तथा नदी किनार, पोखरी, नहरलगायतका जलाशयमा बनाइएको छठघाटमा पानीभित्र चुर्लुम्म डुबेर आज बिहान उदाउँदो अर्घ चढाएका छन् । कतिपयले आफ्नै घरको आगन तथा खेतबारीमा खाल्डो खनेर छठघाट निर्माण गरी पूजा गरेका छन् ।

व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्वको समापन भएको छ । लालबन्दी नगरपालिका–९, बस्तीपुरकी पुनम आचार्यले छठपर्वप्रति आस्था र विश्वास बढेसँगै व्रत बसेर सूर्यलाई अर्घ चढाएको बताईन् ।

लालबन्दी, ईश्वरपुर, हरिवन, बागमती, बरहथपा, हरिपुरलगायत पालिकामा सबै समुदाय र बर्ग मिलेर छठपर्व मनाउनेक्रम बढ्दो छ । चुरेवर्ती ईश्वरपुर नगरपालिका–१२, घारिबथानका शिक्षक भीमबहादुर खड्काले आफूहरुको ठाउँमा सबै समुदाय मिलेर छठपर्व मनाउने गरिएको उज्यालो अभियानसँग बताए ।

नागरिक समाजका अगुवा रजनीकान्त झाले छठपर्वले सबै समुदाय र जातजातिलाई एकैठाउँमा जोड्ने काम गरेको बताए । मधेश प्रदेश अहिले छठमय बनेको छ ।

जताततै छठका गीत गुञ्जिरहेका छन् । पारिवारिक सुख–समृद्धि, र सन्तानको कल्याणको कामनासहित कात्तिक शुक्ल षष्ठी तिथीका दिन छठपर्व मनाउने गरिएको छ ।

छठ पर्वको अवसरमा सङ्घीय सरकारले हिजो देशभर सार्वजनिक बिदा दिएको थियो । मधेश प्रदेशमा प्रदेश सरकारले आज मंगलबार थप एक दिन प्रदेशभर बिदा दिएको छ ।