फाइल तस्बीर ।
लालबन्दी, ११ कात्तिक – अहिले किसानको खेतमा धानबाली पाकेर भित्र्याउने बेला भएको छ ।
तिहार र छठ पर्व मनाएपछि किसान धान भित्र्याउने तयारीमा थिए तर दुई दिनदेखि मौसम प्रतिकुल बन्दा किसानले धान बाली काट्न पााएका छैनन् । मधेशको जिल्लामा दुई दिनदेखि घाम लागेको छैन् ।
पानी पर्लाजस्तो भइ दिनभर मौसम धुम्मिने गरेको छ । ईश्वरपुर नगरपालिका–११, बेलाखैराका किसान शेषनारायण चौधरीले पानी परेर भिजाउने डरले पाकेर झुर्री सकेको धान काट्न नसकेको गुनासो गरेका छन् ।
उनले भने, “यस्तो मौसम हुँदाहुँदै धान काट्ने कुरा भएन, नकाट्दा पनि पाकेर झुर्री सकेको छ ।” चाँडो पाक्ने (अर्ली भेराइटी) लगाएका किसानले तिहारअघि नै धान भित्याइसकेका छन् ।
ढिलो पाक्ने धान भने अहिले बल्ल भित्र्याउने बेला भएको छ । मौसम पूर्वानुमान महाशाखाले तत्काल धान बाली नभित्र्याउन सुझाव दिइरहेकाले किसान तत्काल धान काट्ने मनासयमा छैनन् ।
काटेको धान किसानले हत्तपत्त बिटा लगाएर र थ्रेसर लगाइ झारिसकेका छन् । सर्लाहीसहित मधेश प्रदेशमा कात्तिक लागेपछि सामान्य वर्षा भएको छ ।
अहिलेसम्म धान बालीमा वर्षाले क्षति गरिसकेको छैन् । मध्य असोजमा भने ठुलो पानी परेर रामनगर, धनकौल, कौडेना, बलरा, बरहथवालगायत पालिकामा धान बाली डुबानमा परेको थियो ।
कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले मौसमी अवस्था बुझेर मात्रै धान काट्न आग्रह गरेका छन् । उनले भने, “अब लगभग सबैतिरको धान पाकेको तर अबका केही दिन पानी पर्ने मौसम पूर्वानुमान गरिएकाले किसानलाई तत्काल धान नकाट्न आग्रह गरेका छौँ ।”
उनले बोटमै रहेको धान पानी पर्दा पनि धेरै क्षति नगर्ने तर काटेर पाँजा फिँजाएको बेला पानी पर्दा डुबानमा परेर क्षति हुने भएकाले किसानलाई सचेत गराएका छन् । सर्लाहीमा ४४ हजार ५०० हेक्टरमा धान खेती हुनेमध्ये ९० प्रतिसत भन्दा बढी खेतमा रोपाइँ भएको छ ।
खडेरीका कारण मधेश प्रदेशभरमा भने यो वर्ष ८२ प्रतिसत मात्रै धान रोपाइ भएको छ ।