मलंगवा, १० कात्तिक – आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन छठका व्रतालु धमाधम छठघाटतर्फ प्रस्थान गर्र्न थालेका छन् ।
प्रत्येक व्रतालुले साँझ अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ चढाउँदै छन् । त्यसका लागि उनीहरु परिवारका सदस्यसहित घरबाट पूजा सामग्री बोकेर धमाधम छठघाटतर्फ प्रस्थान गरिरहेका हुन् ।
छठघाटमा मानिसको चहलपहल बढेको छ । छठका विभिन्न प्रकारका गीत गुञ्जिरहेकाले पर्वको माहोल थप बढेको छ ।
सर्लाहीका प्रत्येक गाउँबस्तीमा छठका व्रतालु खाली खुट्टा पूजा सामग्री बोकेर छठघाटतर्फ गइरहेको देखिन्छ । छठका व्रतालु साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि आज रातभर छठघाटमै बस्ने छन् ।
भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि उनीहरु घर फर्किने छन् भने छठपर्व पनि सकिने छ । छठपूजाका लागि तराई मधेशका खोला तथा नदी किनार, पोखरी, नहरलगायतका जलाशयलाई चिटिक्क पारेर श्रृङ्गार्ने काम भएका छन् ।
जलाशय नभएका ठाउँमा घरघरमै तथा खुला स्थानमा खाल्डो खनेर पानी जम्मा गरी पूजास्थल बनाइएको स्थानीयले जानकारी दिएका छन् । खाल्डो खनिएको ठाउँमा पानी भरेर पोखरी झैँ बनाइएको छ ।
अस्दाउँदो सूर्यलाई अर्घ चढाउने दिन भएपनि मधेश प्रदेशमा सोमबार बिहानैदेखि मौसम धुम्मिएर पानी पर्ला जस्तो भएको छ । यहाँ आज राम्रोसँग घाम लागेको छैन् ।