सर्लाहीको ब्रह्मपुरी गाउँपालिका कार्यालयको भवन । (तस्बिर : उज्यालो अभियान)
मलंगवा, ०८ कात्तिक – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनपश्चात सर्लाहीको तीनवटा पालिकाको खाता तत्कालका लागि रोक्का भएको छ ।
मन्त्रालयले मलङ्गवा नगरपालिका, विष्णु गाउँपालिका र ब्रह्मपुरी गाउँपालिकामा अहिले रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर नचल्ने भनी पत्र नै पठाएर खाता रोक्का गर्न पत्र पठाएको कोष तथा लेखा नियन्त्रक कार्यालय कोलेनिका सर्लाहीका प्रमुख पुष्पप्रसाद गुरागाईले उज्यालो अभियानसँग बताए । मलङ्गवामा शिक्षातर्फका उपसचिव होमनाथ सुवेदी, विष्णुमा स्वास्थ्य शाखाका सन्जिव सापकोटा र ब्रह्मपुरीमा पनि स्वास्थ्य शाखाकै उपेन्द्र राउत निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।
सामान्य प्रशासन मन्त्रालयले उनीहरुको स्थानमा बारम्बार दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ तर नयाँ पठाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने र निमित्तकै भरमा पालिका सञ्चालन गर्ने परिपाटी दोहोरिँदै आएको छ । प्रमुख कोष नियन्त्रक गुरागाईले तीन पालिकामा अहिले रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरबाट कुनै पनि निकासा नदिनु भनी निर्देशन प्राप्त भएको बताए ।
उनका अनुसार जिल्लाका २० मध्ये अब बसबरिया गाउँपालिकामा मात्रै बजेट निकासा हुन बाँकी छ । बसबरिया गाउँपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्न सकेको छैन् ।
बजेट बाँडफाँडका विषयमा गाउँपालिका अध्यक्ष रामसिंहासन राय र उपाध्यक्ष सरिता कुमारी पक्षबिच विवाद चल्दै आएको छ । बजेट पारित नहुँदा कर्मचारी, शिक्षकले साउनदेखिको तलब, भत्ता पाउन सकेका छैनन् भने विकास निर्माणका काम ठप्प रहेका छन् ।
बसबरियाबाहेक जिल्लाका १९ पालिकाले भने कोलेनिकाबाट तलब, भत्ताको रकम निकासा लगिसकेका प्रमुख कोष नियन्त्रक गुरागाईको भनाइ छ । उनका अनुसार बरहथवा नगरपालिकाले आइतबार मात्रै तलब, भत्ताको रकम निकासा लगेको छ ।
सरकारी कार्यालयहरु गएको सोमबारदेखि सञ्चालन भएर आजसम्मका लागि बिदा छन् ।