logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

तरकारी महँगियो : किसानलाई राहत, उपभोत्ता मारमा


  • उज्यालो अभियान

लालबन्दी, ०३ कात्तिक – प्रशस्त तरकारी उत्पादन हुन नसक्दा बजारमा हरियो तरकारीको मुल्य असाध्य महँगिएको छ ।

तीन साताअघि भएको भारी वर्षाको असर तरकारी उत्पादनमा अझै पनि कायमै रहेको किसानले बताएका छन् । भारी वर्षाले डुबानमा परेका तरकारीको बोट अहिले चर्किएर घाम लाग्न थालेपछि मर्न थालेका छन् ।

बजारमा किसानले जतिपनि तरकारी बेच्न ल्याएका छन्, त्यो डुबानबाट जोगिएको तरकारी हो । व्यावसायिक तरकारी खेती हुने जिल्लामध्येको एक सर्लाहीमा अहिले परवल, भिन्डी, सिमी र बोडी मात्रै उत्पादन भइरहेको छ ।

लालबन्दी थोक तरकारी बजारमा किसानले ल्याएको बोडी प्रतिकेजी १०० रुपियाँ, परवल प्रतिकेजी ९० रुपियाँ, सिमी प्रतिकेजी ५० रुपियाँ र भिन्डी प्रतिकेजी ५० रुपियाँमा व्यापारीले खरिद गरिरहेका छन् । यि चार तरकारीबाहेक अन्य तरकारी भने न्यून मात्रामा बजारमा आइरहेको कृषि थोक तरकारी बजार समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए ।

दुई दिनको भारी वर्षापछि बजारमा प्रशस्त मात्रामा तरकारी आउन नसकेको घिमिरेको भनाइ छ । लालबन्दी बजारबाट काठमाडौंसहित पोखरा, नारायणघाट, वीरगन्ज, जनकपुर, सिन्धुली, कटारीलगायत ठाउँमा निकासी हुने गरेको छ ।
व्यापारीका अनुसार अब किसान तिहार र छठ पर्व मनाउन ब्यस्त हुँदा बजारमा तरकारी कम आउने भएकाले मुल्य अझै बढ्न सक्छ ।

तरकारीको मुल्य बढ्दा किसानलाई राहत मिलेपनि उपभोक्ता भने मारमा परेका छन् । किसानले व्यापारीलाई थोक मुल्यमा बिक्री गरेको भन्दा खुद्रा बजारमा प्रत्येक तरकारीको भाउ २० देखि ३० रुपियाँसम्म महँगो पर्ने उपभोक्ताले बताएका छन् ।

सर्लाहीसहित देशका अधिकांश बजारमा अहिले भारतीय तरकारी पनि अत्यधिक भित्रिरहेको छ । लालबन्दी नगरपालिका–७, लालबन्दी बजारका स्थानीय ऋषि सुवेदीले बजारमा अहिले स्थानीय तरकारी कम देखिएको तर भारतीय तरकारी छ्याछ्याप्ती रहेको बताए ।

सुवेदीले बिचौलियाका कारण पनि तरकारीको मुल्य अचाक्ली बढ्दा आफूहरु जस्ता उपभोक्ता मारमा परेको गुनासो गरे ।