logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

धनतेरसमा अत्यधिक बिक्यो झाडुकुचो र भाडाका सामग्री


  • उज्यालो अभियान

रितिक यादव/लालबन्दी, ०१ कात्तिक – धनतेरसका दिन सर्लाहीका बजारमा आज झाडु, कुचो र विभिन्न भाडा सामग्री अत्यधिक बिक्री भएका छन् ।

धनदयोदशी अर्थात् धनतेरसका दिन विभिन्न सरसामग्री जोड्ने गरिन्छ । जस अनुसार सर्लाहीका प्रत्येक बजारमा दिउँसोदेखि साँझ अबेरसम्म भाडा सामग्री, झाडु, कुचोलगायतको अत्यधिक व्यापार भएको हो । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा आज बजारको दिन नभएपनि अत्यधिक भीडभाड देखिन्थ्यो ।

आज शनिबार बिदाको दिन परेको र सरसामग्री जोड्ने दिन धनतेरस परेकाले पनि किनमेल गर्नेको असाध्य घुइँचो लागेको हो । लालबन्दी बजारको दुर्गा मन्दिर क्षेत्रमा मानिसको भीड र अव्यवस्थित सवारी पार्किङले जाम नै लागेको थियो ।

चार पांग्रे सवारी साधन निकै मुस्किलले पार भइरहेको देखिन्थ्यो । भद्रगोल अवस्था भएपछि अपरान्हबाट भने केही नगर प्रहरी आएर ठेलामा राखेर झाडु, कुचो तथा अन्य सरसामग्री बेच्नेलाई पन्छाएका थिए ।

जिल्लाको हाटबजार चाडपर्वमय बनेका छन् । तर कतिपय कपडा तथा अन्य सरसामग्रीको व्यापार गर्ने व्यापारी ऋण गरेर प्रशस्त सामग्री स्टक गरेको भएपनि उल्लेख्य व्यापार नभएको गुनासो गरिरहेको भेटिन्छ ।