logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

एक हजार ४३३ जनाको आँखा परीक्षण, १९५ जनाको अप्रेसन


  • उज्यालो अभियान

बागमती, ०१ कात्तिक – सर्लाही र रौतहटमा १९५ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

सर्लाहीका ११ र रौतहटको एक स्थानमा आयोजना गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा फेला परेका मोतियाविन्दुका बिरामीको बिना शुल्क अप्रेसन गरिएको हो । नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठान र बागमती नगरपालिकाले समन्वय गरी १२ स्थानमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेका हुन् ।

सर्लाहीको बागमती, हरिवन र लालबन्दी नगरपालिका तथा रौतहटको चन्द्रपुर नगरपालिकामा सम्पन्न निःशुल्क आँखा शिविरमा एक हजार ४३३ जनाको निःशुल्क आँखा परीक्षण गरिएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पदमबहादुर रायमाझीले जानकारी दिए । उनका अनुसार १२ स्थानको आँखा शिविरमा ४०५ जनामा मोतियाविन्दु देखा परेको थियो । तीमध्ये मोतियाविन्दु भएका १९५ जना र आँखामा मासु पलाएका चार जनाको निःशुल्क शल्यक्रिया गरिएको रायमाझीले बताए ।

मोतियाविन्दु भएका १२ ठाउँकै बिरामीलाई बागमतीस्थित स्वास्थ्य चौकी कर्मैया परिसरमा स्थापना गरिएको सामुदायिक आँखा उपचार केन्द्रमा ल्याएर निःशुल्क शल्यक्रिया गरिएको बागमती नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । अपर्झट स्वास्थ्य शिविर राखिएको र चाडपर्वको समयसमेत भएकाले मोतियाविन्दु फेला परेकामध्ये आधाले मात्रै शल्यक्रिया गराएका स्वास्थ्य शाखा संयोजक रायमाझीले बताए ।

उनका अनुसार आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सञ्चालन गर्न तिलगङ्गाबाट आउनुभएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई हिजो बिदाई गरिएको छ । आँखा शिविर सञ्चालनकै अवसर पारेर बागमतीस्थित स्वास्थ्य चौकी कर्मैयामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।

उपचार केन्द्रमा आँखाका बिरामीको नियमित परीक्षण र प्रत्येक तीन महिनामा मोतियाविन्दुको शल्यक्रिया शिविर सञ्चालन गरिने बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाले बताए ।