हरिवन, २९ असोज – सर्लाहीको हरिवन नगरपालिका १ कैलाशपुरीमा रहेको मानव सेवाश्रममा आश्रीत सडक मानवहरुको आज निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
लायन्स क्बल लालबन्दी सिटी, लायन्स क्लब लालबन्दी र लालबन्दी मोडेल अस्पतालको संयुक्त आयोजनामा आश्रममा आश्रय दिएर राखिएकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । लालबन्दी मोडेल अस्पतालका सिनियर जेनरल फिजिसियन डा. आलोक कुशवाहाले आश्रममा आश्रय दिएर राखिएकाहरुको स्वास्थ्य परीक्षण गरेका हुन् ।
स्वास्थ्य परीक्षणसँगै मानव सेवा आश्रमका लागि १५ हजार बराबरको औषधिसमेत प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिस्ट्रिकको एरिया को–अडिनेटर राजकुमार न्यौपानेले जानकारी दिए । स्वास्थ्य शिविर संचालन तथा औषधि हस्तान्तरण गर्न न्यौपानेसँगै डा. कुशवाहा, आयोजक क्लबका अध्यक्ष रेवन्तराज तिमल्सिना, पूर्व अध्यक्ष दीपक थापा, क्लबका सचिव सुरज थापा, सदस्य कमल पासवानलगायतको उपस्थिति रहेको थियो ।
लालबन्दीमा लायन्स क्लबले यसरी बारम्बार सामाजिक कार्य गर्दै आइरहेको छ ।