logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

साँढे ५ लाखसहित २ जना पक्राउ, वैध रकमलाई अवैध भन्दै जवरजस्ती बरामद गरेको आरोप


  • उज्यालो अभियान

मलंगवा, २७ असोज – सीमावर्ती ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरबाट प्रहरीले वैध रकमलाई अवैध भनी बरामद गरेर दुई जनालाई पक्राउ गरेको विरोधमा सदरमुकाम मलंगवामा आज दिउँसो प्रदर्शन गरिएको छ ।

प्रहरी चौकी त्रिभुवननगरले हिजो चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका २५ वर्षीय आलम मन्सुर र ४० वर्षीय विकाउ मन्सुरलाई बीआर ०६ बी. टी. ३४३६ नम्वरको मोटरसाइकलमा हिँडिरहेका बेला नगद पाँच लाख ४५ हजार रुपियाँसहित नियन्त्रणमा लिएको थियो । मन्सुर द्वयले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईले बताए ।

प्रहरीले पक्राउ परेका दुवै जना र बरामद रकम आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा बुझाइसकेको छ । मन्सुरका परिवार, आफन्त र गाउँलेले विवाहको सरसामग्री किनमेलका लागि बोकिएको पैसा भन्दा भन्दै प्रहरी चौकी त्रिभुवननगरका प्रहरीले लुटपाट शैलीमा रकम बरामद गरेको आरोप लगाउँदै सदरमुकाम मलङ्गवामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले सदरमुकाम मलङ्गवास्थित कुमारी बैङ्कको शाखाबाट रकम निकालिएको स्टेटमेन्ट देखाइरहेका छन् । सोही स्टेटमेन्ट बोक्दै उनीहरुले मलङ्गवाको जिविस चोकमा टायर बालेर प्रदर्शनसहित प्रहरी, प्रशासनविरुद्ध चर्को नाराबाजीसमेत गरेका छन् ।

चन्द्रनगर गाउँपालिका–५, मोहनपुरकी अप्सना खातुनले छोरीको विवाहका लागि किनमेल गर्न भन्दै नातेदार विकाउ र आलमलाई पैसा बुझाएको दावी गरिएको छ । प्रहरीले वास्तविकता बुझ्दै नबुझी हतारहतार भन्सारमा लगेर मानिस र पैसा बुझाएको प्रदर्शनकारीले आरोप लगाएका छन् ।

सर्लाही प्रहरीका प्रवक्ता डिएसपी राईले भने शङ्कास्पद अवस्थामा पैसा बोकेर हिँडेको र तत्काल सोधपुछ गर्दा पैसाको स्रोत खुलाउनै नसकेकाले कानून बमोजिम भन्सारमा बुझाइएको दावी गरेका छन् ।

मलङ्गवाबाट निकालिएको पैसा त्रिभुवननगरतर्फ किन लिएर गएको हो ? भन्नेसमेत शङ्कास्पद नै रहेको डिएसपी राईको भनाइ छ ।