logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

यो पटकको गाउँसभा बैठकले पनि पारित गर्न सकेन बजेट 


  • उज्यालो अभियान

बसबरिया, २५ असोज – सर्लाहीको बसबरिया गाउँपालिकाको बजेट यो पटकको गाउँसभा बैठकबाट पनि पारित हुन सकेन ।

चालू आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट पारित गर्न बिहीबार गाउँसभा बैठक बसेको थियो । बैठकमा बजेट बाँडफाँडका विषयमा गाउँपालिका अध्यक्ष रामसिंहासन राय र उपाध्यक्ष सरिता कुमारी पक्षबिच सहमती जुट्न नसकेको एक गाउँसभा सदस्यले जानकारी दिए ।

बिहीबार सहमती जुट्न नसकेपछि हिजो शुक्रबार पुनः गाउँसभाको बैठक बस्ने सहमती भएको थियो । तर बिहीबार राति कविलासी नगरपालिकास्थित सलेमपुरमा मधेश प्रदेशसभा सदस्य एवं जनता समाजवादी पार्टी नेपालका नेता सञ्जयकुमार यादव र पूर्व मधेश प्रदेशसभा सदस्य एवं जनता समाजवादी पार्टी मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव पक्षबिच विवाद भएर अवस्था बिग्रिएपछि जनप्रतिनिधि सोही घटनामा केन्द्रीत भएकाले हिजो गाउँसभाको बैठक नै बस्न नसकेको गाउँपालिका अध्यक्ष रामसिंहासन रायले उज्यालो अभियानसँग बताए ।

बसबरियामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष रहेका छन् । तर जिल्लामा पार्टीभित्र दुई गुट देखिएपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष अलगअलग धारमा लागेसँगै त्यसको प्रत्यक्ष असर गाउँपालिकाको बजेटमा परेको हो ।

गाउँपालिका अध्यक्ष रामसिंहासन रायले यसअघि नै गाउँसभा बैठक राखेर बजेट पारित गर्ने प्रयास गर्दा उपाध्यक्ष सरिता कुमारीले उजुरी गरेपछि उच्च अदालत जनकपुरले गाउँसभा बैठक स्थगित गर्न आदेश दिएको थियो ।

जनप्रतिनिधिबिचको किचलोका कारण नयाँ आर्थिक वर्ष सुरु भएको तीन महिना बित्न लाग्दासमेत बजेट पारित नहुँदा गाउँपालिकामा कार्यरत कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी र लाभग्राही तलब, भत्ता नपाउँदा निराश बनेका छन् । बसबरियामा प्रमुख चाड दशैँमा तलब, भत्ता निकासा हुन सकेको थिएन ।

तत्काल बजेट पारित हुने अवस्था नरहेकाले तिहार र छठ पनि खल्लो हुने अवस्था रहेको कर्मचारीले गुनासो गरेका छन् । जनप्रतिनिधिबिचको टकराबको असर विकास निर्माणको काममा समेत परेको भन्दै गाउँपालिकावासीले चिन्ता व्यक्त गरेका छन् ।