घुर्कौली, २४ असोज – योङस्टार यूवा क्लब निजगढ बाराले सर्लाहीको हरिवन नगरपालिका–६, घुर्कौलीमा आयोजित प्रथम घुर्कौली कप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।
आज भएको उद्घाटन खेलमा एभरेष्ट फुटबल एकेडेमी लालबन्दी सर्लाहीलाई एक–शुन्य गोलले स्तब्ध पार्दै योङस्टारले प्रतियोगितामा सुःखद् सुरुवात गरेको हो । हरिवन नगरपालिका ६ स्थित सिद्धार्थ खेल मैदानमा सुरु भएको प्रतियोगिताको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) र हरिवन ६ का वडाध्यक्ष सन्तलाल घिसिङले संयुक्त रुपमा उद्घाटन गरेका प्रतियोगिताका संयोजक करन पाख्रिनले जानकारी दिए ।
घुर्कौली यूवा समूहको आयोजना तथा हरिवन नगरपालिका ६ नं. वडा कार्यालयको सहयोगमा सुरु भएको प्रतियोगिता कात्तिक ३ गतेसम्म संचालन हुने छ ।
प्रतियोगिताको बिजेताले ट्रफीसहित एक लाख र उपबिजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक पाख्रिनले बताए । उनका अनुसार प्रतियोगितामा १४ वटा क्लबले सहभागिता जनाएका छन् ।