अनिता देवकोटा/लालबन्दी, ३१ भदौ – मधेश प्रदेशकै सबैभन्दा ठुलो तरकारी बजारको रुपमा रहेको लालबन्दी तरकारी बजारबाट हरियो तरकारी नियमित निकासी हुन थालेको छ ।
जेनजी आन्दोलनका कारण बिचमा केही दिन तरकारी निकासीमै समस्या पैदा भएको थियो । कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले तरकारी निकासीमा अहिले कुनै प्रकारको अवरोध नरहेको र साबिककै झैँ सबैतिर तरकारी गइरहेको उज्यालो अभियानसँग बताए ।
व्यापारीले तरकारी बजार समितिबाट तरकारी ढुवानीको पत्र लिएर दैनिक काठमाडौंसहित देशका विभिन्न सहरमा ताजा हरियो तरकारी निकासी गरिरहेका छन् । नेपाली सेनाले बिचमा केही दिन पत्र लिएर मात्रै तरकारी ल्याउन भनेपछि बजार समितिले काठमाडौंसम्म तरकारी लैजाने प्रत्येक व्यापारीलाई पत्र बनाएर दिएको बजारका व्यवस्थापक घिमिरेको भनाइ छ । उनका अनुसार काठमाडौंको कालिमाटी र बल्खु तरकारी बजारका लागि लालबन्दीबाट दैनिक ७ ट्रक तरकारी निकासी भइरहेको छ ।
लालबन्दी बजारमा किसानले ल्याएर बिक्री गर्ने तरकारी निकासी हुने मुख्य ठाउँ नै काठमाडौं हो । काठमाडौंमा एक दिन मात्रै पनि तरकारी लैजान नपाउने बित्तिकै यहाँका किसानले फलाएको तरकारी बिक्री नै नहुने समस्या हुन्छ ।
लालबन्दीबाट पोखरा, नारायणघाट, वीरगन्ज, जनकपुर, जलेश्वर, सिन्धुली, कटारीलगायत ठाउँमा पनि निर्वाध ढङ्गले तरकारी निकासी भइरहेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ । बजार बन्द र यातायातका साधन ठप्प हुँदा दुई÷तीन दिन किसानलाई तरकारी बिक्री गर्न असाध्य समस्या परेको थियो । अहिले भने किसानले ल्याएको तरकारी खरिद गरेर बाहिरी बजारहरुमा सामान्य ढङ्गले नै पठाइरहेको व्यापारी मोहम्मद उस्मानले सुनाए ।
लालबन्दी बजारमा सर्लाहीका आधा दर्जन पालिका र महोत्तरीका किसानले समेत आफूले उत्पादन गरेको हरिया तरकारी बिक्री गर्न ल्याउने गरेका छन् । जेनजी प्रदर्शनको क्रममा लालबन्दी थोक तरकारी बजारमा पनि तोडफोडको प्रयास भएको थियो ।
बजार समितिका अध्यक्ष प्रमोदप्रसाद थपलियाले तरकारी बजारमा तोडफोड गर्दा किसानले उत्पादन गरेको तरकारी बिक्री नभएर थप समस्या आउने भन्दै सम्झाइबुझाइ गरेपछि क्षति हुन नपाएको उज्यालो अभियानसँग बताएका छन् ।
तोडफोड हुने डरले तरकारी बजारको कार्यालयबाट निकालेर सुरक्षित स्थानमा सारिएको कम्प्युटरसहितका उपकरण कार्यालयमा फर्काउन बाँकी नै रहेको बजार समितिका अध्यक्ष थपलियाले जनाए ।