logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जेन-जी आन्दोलनका क्रममा मंगलबार दिनभर सर्लाहीमा के-के भयो ?


  • उज्यालो अभियान

टंक बहादुर क्षेत्री\उज्यालो अभियान
हरिवन, २४ भदौ – जेन-जी आन्दोलनका क्रममा मंगलबार दिनभर सर्लाहीपनि तनावग्रस्त बनेको छ ।

आन्दोलनका क्रममा प्रदर्शनकारीतर्फ २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिए । त्यस्तै बिहान सदरमुकाम मलंगवामा भएको प्रदर्शन अन्तर्गत भिड नियन्त्रणका क्रममा नेपाल प्रहरीका ४ जना सुरक्षाकर्मी घाईते भएका छन् । एकजना सुरक्षाकर्मीको त ढुंगा लागेर दाँत नै झरेको डीएसपी राईले जानकारी दिए । घाइते आन्दोलनकारी दुवैजनालाई थप उपचारका लागि बाहिर पठाईएको प्रहरीले जनाएको छ । राईका अनुसार घाइते सुरक्षाकर्मीकोपनि उपचार जारी रहेको छ ।

डीएसपी राईका अनुसार यो बाहेक जेन-जी आन्दोलनका क्रममा मंगलबार सर्लाहीमा राज्य र आन्दोलनरत् पक्षबाट अन्य मानवीय हताहती एवं दुर्घटनाको खबर आएको छैन । प्रहरीले आन्दोलनका क्रममा हुलदंगा गरेको आरोपमा सदरमुकाम मलंगवाबाट पक्राउ परेका ५ जनालाई मंगलबार साँझ सम्झाईबुझाई छाडेको छ ।

आन्दोलनकारीहरुको भिडले मंगलबार बिहानै सदरमुकाम मलंगवास्थित नगरपालिका कार्यालय, जिल्ला अदालत लगायत सरकारी कार्यालयमा ढुंगामुढासहित तोडफोड गरेका छन् । आन्दोलनकारीलाई दुवै कार्यालयमा भित्रै पसेर आगजनीसहित थप क्षति भने गर्नबाट रोकिएको डीएसपी राईले जानकारी दिए । त्यस्तै नेपाली कांग्रेस, नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी भएको छ ।

त्यस्तै आन्दोलनकारीले लालबन्दी नगरपालिका कार्यालयमा तोडफोडसहित आगजनी गरेका छन् । नगरपालिकाका प्रमुख (मेयर) बाशुदेव अधिकारीको निवासमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बरहथवा नगरपालिका कार्यालय र नगरपालिकाकी मेयर कल्पना कटुवालको घरमा समेत आन्दोलनकारीहरुले तोडफोड र आगजनी गरेका छन् ।

लालबन्दी नगरपालिकाको वडा नं. ७ लालबन्दी बजारस्थित कार्यालय, वडा नं. १ र २ को नवलपुरस्थित संयुक्त कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, लालबन्दी बजारस्थित प्रहरी पोष्ट, प्रहरीको सार्वजनिक मोटरसाईकल लगायतमा आगजनी एवं तोडफोड भएको प्रनाउ राईले जानकारी दिए ।

त्यस्तै आन्दोलनकारीहरुले हरिवन नगरपालिका कार्यालय, हरिवन नगरपालिका वडा नं. ११, ७ र ८ को कार्यालय भवनमा तोडफोडसहित आगलागी समेत गरेका छन् । हरिवन नगरपालिकाका प्रमुख(मेयर) रमेश बुढाथोकी (कमल) को घरमा समेत तोडफोड र लुटपाट भएको प्रहरीले जनाएको छ ।

आन्दोलनकारीहरुले बागमती नगरपालिका कार्यालयमा तोडफोडसहित आगजनी गरेका छन् भने हरिपुर नगरपालिका कार्यालयमा पनि तोडफोडसहित कार्यालयभित्र आगजनी भएको खबर आएको प्रहरीले जनायो । त्यस्तै हरिपूर्वा नगरपालिकाका प्रमुख विनोद कुमार साह तेलीको जीप तथा मोटरसाईकल तोडफोडसहित आगजनी भएको खबर आएको डीएसपी राईले जानकारी दिए ।

आन्दोलनका कारण सर्लाहीस्थित महेन्द्र राजमार्गसहित जिल्लाभरका अन्य सम्पूर्ण राजमार्गहरुमा छिटफुट बाहेक लामो तथा छोटो दुरीका सवारीसाधन चलेनन् । सदरमुकाम मलंगवासहित महेन्द्र राजमार्ग आसपास एवं जिल्लास्थित अधिकांश बजारहरु समेत ठप्प भए ।

जेन-जी आन्दोलनका कारण सर्लाहीको कबिलासी नगरपालिकास्थित प्रहरी चौकी विस्थापित भएको छ ।

आन्दोलनका कारण परिस्थिती नियन्त्रण बाहिर आएपछि मंगलबारबाट कबिलासी प्रहरी चौकीलाई मजकुर कार्यालयमा गाभिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राइले जानकारी दिए । त्यसैगरी यो समाचार तयार पार्दासम्म जिल्लाकै चन्द्रनगर गाउँपालिका कार्यालयमा तोडफोड एवं आगजनी सूरु भएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण भने आउन बाँक नै छ ।

अब जेन-जी आन्दोलनका क्रममा बुधबार बिहानैदेखि के-के हुने हो त्यो भने हामी सबैको गर्वमै लुकेको कुरामा कसैको दुईमत रहेन ।

योपनि पढ्नोस्

जेन-जी आन्दोलन : सर्लाहीको कबिलासी प्रहरी चौकी विस्थापित

चन्द्रनगर गाउँपालिकामा तोडफोड र आगजनी सूरु

बागमती नगरपालिकामा ताेडफाेड र आगजनी