logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

‘हाइटेन्सन’ विद्युत प्रशारण लाइनको क्षतिपूर्ति दिन माग


  • उज्यालो अभियान

हरिवन, २२ भदौ – नेपाल विद्युत प्राधिकरणले १३२ केभीए राष्ट्रिय प्रशारण लाईन अन्तर्गत ‘हाइटेन्सन’ पोल गाडिएको स्थान तथा आसपासको जमिन एवं घर टहराको क्षतिपूर्ति दिन पीडितले माग गरेका छन् ।

२०४४ सालतिर महेन्द्र राजमार्ग उत्तर पूर्वदेखि पश्चिमसम्म विद्युत प्रशारणका लागि गाडिएको हाइटेन्सन पोलका कारण आफूहरुको जमिन बिक्री नभएको, खेतीबाली नभएको, घरमा बसोबासका लागि असुरक्षित भएको भन्दै सर्लाहीको हरिवन, बागमती, लालबन्दी नगरपालिकाका स्थानीयले क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका हुन् । आफूहरुले पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा निकै समयअघि तथा गत साउन १३ गते प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा समेत क्षतिपूर्तिको माग सहित ध्यानाकर्षणपत्र बुझाएको हरिवनका गोविन्द कार्कीले जानकारी दिए ।

२०४६ सालपश्चात नेपाल विद्युत प्राधिकरणको १३२ केभीए वा सोभन्दा माथिको प्रशारण लाईन विस्तारका क्रममा हाइटेन्सन पोल जडान गरिँदा क्षतिपूर्ति दिईएपनि त्यसअघिको यस प्रशारण लाइनको विस्तारमा क्षतिपूर्ति नपाउनु न्यायसंगत नभएको हरिवनका गोविन्द बुढाथोकीको गुनासो छ । पटक–पटक सम्बन्धित निकाय तथा अधिकारीहरु सहित राजनैतिक उच्च नेतृत्ववर्गलाई समेत ध्यानाकर्षण गराइएपनि मागप्रति कुनै सुनुवाई नहुनु दुःखद भएको बुढाथोकी बताउँछन् । १३२ केभी हाइटेन्सन लाइन पीडित संघर्ष समिति सर्लाही गठन गरेर आन्दोलनको तयारी समेत गरिएको कार्कीको भनाई छ ।