हरिवन, १४ भदौ – सर्लाहीका उखु किसानका लागि १८ करोड रुपियाँ अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा आइपुगेको छ ।
प्रमुख कोष नियन्त्रक पुष्पप्रसाद गुरागाईले उखु किसानलाई अनुदान दिन १८ करोड ७५ लाख ५० हजार ६९० रुपियाँ निकासा भएर आएको जानकारी दिए । यो रकमले किसानलाई प्रतिक्विन्टल ३५ रुपियाँका दरले मात्रै भुक्तानी दिन सकिने कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीले जनायो ।
गत आर्थिक वर्ष २०८१÷८२ मा सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपियाँका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो । तर रकम निकासा भएर आउँदा ३५ रुपियाँका दरले दिन पुग्ने गरी मात्रै आएको हो ।
सर्लाहीका तीनवटा चिनी मिलले क्रसिङ गरेको उखुको विवरण अनुसार किसानलाई ३७ करोड रुपियाँ अनुदान रकम माग गरिए पनि १८ करोड मात्रै निकासा आएको प्रमुख कोष नियन्त्रक गुरागाईले बताए । कार्यालयलाई प्राप्त रकम किसानको बैङ्क खातामा पठाउन तीव्रताका साथ काम भइरहेको प्रमुख कोष नियन्त्रक गुरागाईको भनाइ छ । उनले अगामी आइतबारसम्म किसानको खाता रहेका बैङ्क तथा वित्तीय संस्थालाई चेक हस्तान्तरण गरिसक्ने गरी काम भइरहेको बताए ।
बैङ्क तथा वित्तीय संस्थाले कोलेनिकाबाट एकमुष्टमा चेक लिएर सम्वन्धित किसानको खातामा रकम जम्मा गरिदिने छन् । किसानले उखुको प्रतिक्विन्टल अनुदान रकम ७० रुपियाँ नै पाउनुपर्ने माग गर्दै एक सातादेखि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहँदा सरकारले भने जिल्लामा ३५ रुपियाँका दरले मात्रै अनुदान रकम निकासा गरेको हो ।
केन्द्रीय उखु किसान सङ्घर्ष समितिका सह–संयोजक एवं सर्लाहीका अगुवा उखु किसान राजकुमार उप्रेतीले आन्दोलित किसानलाई भुलाउन र आगामी वर्षदेखि अनुदान नै नदिने योजनासहित सरकारले हतारहतारमा अपुरो रकम निकासा गरेर पठाएको बताएका छन् ।