नवलपुर, १२ भदौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालाको राजनीतिक जीवन सफल भएको बताएका छन् ।
नेपाली कांग्रेस सर्लाहीले आज दिवंगत कोइरालाको स्मृतिमा लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम परिसरमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै थापाले कांग्रेसका नेता, कार्यकर्ताले कोइरालाको मागदर्शन अनुशरण गर्नुपर्ने बताए । श्रद्धाञ्जली सभामा दिवंगत कोइरालाको जीवनीबारे मात्रै चर्चा गरेका कांग्रेस महामन्त्री थापाले कोइरालाको योगदान सँदैव अमर रहीरहने उल्लेख गरेका छन् ।

कोइरालाले जीवनभर लाभको कुनै पद नलिएको भन्दा पनि उनले समाजमा पुर्याएको योगदानको विषयलाई बाहिर ल्याएर लिपिवद्ध गरेर राख्नुपर्नेमा थापाको जोड छ । उनले नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पार्टीको केन्द्रीय कार्य समितिकै तर्फबाट स्मारिका प्रकाशन गर्ने प्रतिवद्धता व्यक्त गरेर गएका छन् ।
नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति एवं किसान महासङ्घका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका कोइरालाकै जोडबलमा जुटपानीमा वृद्धाश्रम, विद्यालय, स्वास्थ्य चौकीलगायत सामाजिक सङ्घसंस्था स्थापना भएको थाहा पाउँदा थापाले खुसी व्यक्त गरे । कोइराला दिवंगत हुनुभएपनि उहाँले स्थापना गरेको जुटपानी आश्रम, विद्यालयलगायतले उहाँको योगदान अमर रहीरहने कांग्रेस महामन्त्री थापाको भनाइ छ ।

श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले वासुदेवशरण कोइरालाबाटै समाजसेवा र राजनीतिमा प्रेरित भएको बताए । सभामा कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंह, कार्यवाहक जिल्ला सभापति डा. सरोजकुमार यादव, पूर्व जिल्ला सभापति नागेन्द्रकुमार यादव, मधेश प्रदेश सभा सदस्य जङ्गीलाल राय, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, जिल्ला सचिव मनोज यादव, नेतृ सोनीकुमारी बोम्जनलगायतले सम्वोधन गर्दै कुशल र निष्ठावान नेता गुमाउनुपरेको प्रति दुःख व्यक्त गरेका छन् ।

जुटपानी आश्रमका संरक्षकसमेत रहनुभएका कोइरालाको भदौ ३ गते ९३ वर्षको उमेरमा निधन भएको थियो । कोइरालाले आफू जीवित रहँदै मृत्युपश्चात आफ्नो शरीर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई अनुसन्धानका लागि प्रदान गरेर अनुकरणीय काम गरेको भन्दै महामन्त्री थापासहित अन्य वक्ताहरुले प्रशङ्सा गरेका छन् ।
नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीको संचालन तथा अर्का सचिव मनोज यादवको स्वागतमा आयोजित श्रद्धाञ्जली सभामा दिवंगत वासुदेवशरण कोइरालाको सम्झनामा मौनधारण र उहाँको तस्बीरमा माल्र्यापण गरिएको थियो ।