गगन थापा ।
लालबन्दी, १२ भदौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आज सर्लाही आउँदै छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति सर्लाहीले लालबन्दी नगरपालिका २ नवलपुर जुटपानीमा आयोजना गरेको श्रद्धान्जली सभालाई प्रमुख अतिथिका रुपमा सम्वोधन गर्न कांग्रेस महामन्त्री थापा यहाँ आउन लागेका हुन् । भदौ ३ गते निधन हुनुभएका कांग्रेस सर्लाहीका पूर्व जिल्ला सभापति एवं प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालाको सम्झनामा आज जिल्ला कार्य समितिको तर्फबाट श्रद्धान्जली सभा आयोजना गरिएको नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए ।
विमानमार्फत जनकपुर हुँदै आउने महामन्त्री थापाले बिहान ११ बजेपछि नवलपुरस्थित दिवंगत कोइरालाले संचालन गरेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम परिसरमा आयोजित श्रद्धान्जली सभालाई सम्वोधन गर्ने कांग्रेस सर्लाहीले जनाएको छ । वीपीसँग साथी भएर काम गरेका कोइरालाको निधनपछि नेपाली कांग्रेस क्षेत्र नं. १, लालबन्दी नगर समितिसहित कांग्रेसको भातृ तथा शुभेच्छुक संस्था र विभिन्न सामाजिक संघसंगठनले बेग्लाबेग्लै श्रद्धान्जली सभा आयोजना गरिसकेका छन् ।
केही दिनअघि कांग्रेस पूर्व महामन्त्री डा. शशांक कोइरालासमेत आएर दिवंगत कोइरालाप्रति श्रद्धान्जली व्यक्त गरेका थिए ।