लालबन्दी, १२ भदौ – सर्लाहीका उखु किसानसँगै अधिकांश जनप्रतिनिधि काठमाडौं पुगेका छन् ।
उखुको अनुदान रकमलाई निरन्तरता दिन माग गर्दै उखु किसान चार दिनदेखि काठमाडौंस्थित माइतीघरमा धर्ना दिएर बसिरहेका छन् । उक्त धर्ना कार्यक्रममा जिल्लाका सांसद, पालिका प्रमुखलगायत सरिक हुन थालेका हुन् ।
उखु किसान सङ्घर्ष समितिका सहसंयोजक राजकुमार उप्रेतीले आफूहरुको आन्दोलनमा समर्थन जनाउँदै जनप्रतिनिधि र दलका शिर्षस्त नेताहरु सरिक हुनेक्रम बढ्दै गएको उज्यालो अभियानसँग बताए । सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादव, बलरा नगरपालिकाका प्रमुख रामाशङ्कर प्रसाद कुशवाहा, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवलगायत उखु किसानको धर्नामा सरिक भएका छन् ।
यस्तै पूर्व प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाईसहित सक्तारुढ तथा विपक्षी दलका नेताहरु समेत धर्नामा उपस्थित भएर किसानको पक्षमा उभिएका छन् । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखु किसानका लागि अनुदान रकम बिनियोजन नगरेपछि उखु खेती हुने सर्लाहीसहित एक दर्जन बढी जिल्लाका किसान काठमाडौं गएर आन्दोलन गरिरहेका छन् ।
१६ वर्षअघि ठुलो संघर्ष गरेर प्राप्त भएको अनुदान रकम गुमाउन नसकिने उखु किसानको अडान छ । सबैचिजमा महँगी बढेको र चिनीको भाऊ पनि बढेकाले अनुदान रकम कटौति गर्नु न्यायोचित नहुने उखु किसानको तर्क छ ।
आन्दोलित उखु किसानले सरकारकै निर्णय बमोजिम गत वर्ष २०८१/८२ को प्रतिक्विन्टल ७० रुपैयाँका दरले तत्काल अनुदान रकम निकासा गर्न माग गरेका छन् ।