बागमती, ०९ भदौ – सर्लाहीको बागमती नगरपालिका–५, सोल्टी बजारमा रहेको जनता माध्यमिक विद्यालयमा साँढे पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको छ ।
विद्यालयका पूर्व विद्यार्थी एवं त्रिभुवन विश्वविद्यालयमा कार्यरत उपप्रध्यापक यदुराम उप्रेतीले दिवंगत बुबा ज्ञानप्रसाद उप्रेतीको स्मृतिमा विद्यालयमा पाँच लाख ५५ हजार ५५५ रुपियाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजले विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट अङ्क प्राप्त गर्ने, अतिविपन्न र अशक्त विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने उद्देश्य रहेको उपप्रध्यापक उप्रेतीले जानकारी दिए ।
उप्रेती परिवारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलहरि पोखरेल र प्रधानाध्यापक लोकनाथ दाहाललाई अक्षयकोषको रकम हस्तान्तरण गरेका छन् ।