लालबन्दी, ०५ भदौ – लालबन्दी नगरपालिका–२, पुनर्वासमा क्षयरोगीको उपचार र नयाँ क्षयरोगी पत्ता लगाउन स्वास्थ्यकर्मी घरघरमै पुग्न थालेका छन् ।
पुनर्वास क्षेत्र पछिल्लो समय क्षयरोग (टीबी) को ‘हटस्पट’ नै बनेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा यहाँ ३५ जना नयाँ क्षयरोगी फेला परेका आधारभूत स्वास्थ्य सेवा केन्द्र पुनर्वासका कार्यालय प्रमुख सन्तोषकुमार साहले जानकारी दिए ।
यस वडामा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा आठ जना र त्यसअघि आर्थिक वर्ष २०७९/८० मा तीन जनामा क्षयरोगको सङ्क्रमण पुष्टी भएको थियो । स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज साहका अनुसार नयाँ फेला परेका क्षयरोगका अधिकांश बिरामीले नियमित उपचार गराइरहेका छन् ।
ति बिरामीलाई घरघरमै पुगेर उपचार गर्ने र नयाँ बिरामीको खोजी गर्न घरदैलो कार्यक्रम सञ्चालन गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख साहले बताए । जिम्मेवारी भन्दा बाहिरको काम अन्तर्गत निस्वार्थ ढङ्गले घरघरमै गएर बट्टामा खकार सङ्कलन गर्नेदेखि नगर अस्पतालको ल्याबसम्म ल्याएर परीक्षण गराइदिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।
पुनर्वासमा अधिकांश दलित (पासवान) समुदायको बसोवास रहेको छ । क्षयरोग सङ्क्रमित बिरामीले खोक्दा वा हाछ्यूङ गर्दा थुकको छिटाको माध्यमबाट तथा बिरामीको जुठो खाँदा सर्ने चिकित्सकले बताएका छन् ।
लालबन्दी नगरपालिकाभित्र अहिले १८५ जना क्षयरोगी रहेका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानीका अनुसार सबैभन्दा बढी क्षयरोगी लालबन्दी २ पुनर्वास क्षेत्रमै रहेका छन् ।
दलित बस्तीमा सरसफाईको कमी र पोषणयुक्त खानेकुराको अभावले गर्दा सङ्क्रमण बढी देखिएको स्वास्थ्य शाखा संयोजक मिकरानीको भनाइ छ । क्षयरोगीलाई सरकारले निःशुल्क औषधि प्रदान गर्दै आइरहेको छ ।
स्वास्थ्यकर्मीका अनुसार क्षयरोगीले कम्तीमा छ महिना अनिवार्य र त्यसपछि चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्ने हुन्छ ।