नवलपुर, ०३ भदौ – कांग्रेसका संस्थापक नेता वासुदेवशरण कोइरालाको निधनमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
देउवाको तर्फबाट नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोक वक्तव्य जारी गर्दै पार्टी र भातृ संस्थाको विभिन्न पदीय जिम्मेवारमा रहेर स्व. कोइरालाले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख गरेका हुन् । कांग्रेस सभापति देउवाले कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र व्यक्तिगत तर्फबाट गहिरो समवेदन प्रकट गरेका छन् ।
९३ वर्षीय कोइरालाको आज बिहान लालबन्दी नगरपालिका २ जुटपानीस्थित निवासमा निधन भएको थियो । उनको पार्थिव शरीर कोइरालाको इच्छा अनुसार आज बिहान नै वीपी कोइरालाको नाममा स्थापित धरानको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान अनुसन्धान गर्ने विद्यार्थीको सहयोगार्थ दान दिइएको परिवारले जनायो ।