बयलवास, २३ साउन – सर्लाहीको ईश्वरपुर नगरपालिका–८, रामपुरमा आधुनिक खेल मैदान निर्माणका लागि तीन करोड रुपियाँ बजेट विनियोजन भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले रामपुरको खेल मैदान निर्माणका लागि तीन करोड रुपियाँ बजेट विनियोजन भएको भन्दै नगरपालिकालाई पत्र लेखेर जानकारी गराएको हो । रामपुर खेल मैदानको स्तरोन्नतिसहित आधुनिक स्तरको बनाउन ठूलो रकम विनियोजन भएपछि यहाँका खेलप्रेमी खुसी भएका छन् ।
रामपुर खेल मैदानमा वर्षेनि प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष एवं फुटबल प्रशिक्षक रोजित केसीले आधुनिक खेल मैदान निर्माण गर्न बजेट विनियोजन भएको भन्दै खुसी व्यक्त गरेका छन् । रामपुरस्थित फूलजोर खोला किनारमा रहेको खेल मैदानलाई व्यवस्थित बनाउन पटकपटक मन्त्री, राजनीतिक दलका नेता र खेलकुदसँग जोडिएका निकायका पदाधिकारीसँग माग गरिएको थियो ।
ईश्वरपुर नगरपालिका–८, का वडाध्यक्ष श्यामबहादुर थापाले लामो समयदेखिको पहल बल्ल अहिले आएर सार्थक बन्न पुगेको बताए । तीन करोड बजेटबाट यो खेल मैदानलाई मधेश प्रदेशकै उत्कृष्ट खेल मैदान बनाउने योजना रहेको वडाध्यक्ष थापाको भनाइ छ ।
राष्ट्रिय खेलकुद परिषद्ले नगरपालिका कार्यालयलाई लेखेको पत्रमा डिपिआर तयार पारेर यथाशिघ्र परिषद्मा पठाउन आग्रह गरिएको छ ।