सलेमपुर, १८ साउन – जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोकुमार यादवले आफूमाथि झुठो मुद्दा लगाइएको दावी गरेका छन् ।
जिल्ला प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौच गरेपछि यादवविरुद्ध सर्लाही जिल्ला अदालतमा आपराधिक उपद्रो कसुरमा मुद्दा दायर भएको छ । यादव प्रहरीको फरार सूचीमै रहेका छन् ।
उनले नै आज आफ्नो निवास कविलासी नगरपालिकास्थित सलेमपुरमा पत्रकार सम्मेलन गरी आफूमाथि झुठो मुद्दा दायर गरिएको दावी गरेका हुन् । उनले आफू सरकारी कार्यालयमा हुने अनियमितता र भ्रष्टाचारविरद्ध उत्रदा उल्टै आफूविरुद्ध प्रहरी प्रशासन र नियामक निकाय लागेको तर्क गरेका छन् ।
पत्रकार सम्मेलनमै जसपा सर्लाहीले यादवविरुद्ध मुद्दा दायर भएको विरोधमा साउन २० गते विरोध ¥याली निकाल्ने, २१ गते मसाल जुलुस गर्ने र २२ गतेदेखि अनिश्चितकालिन बन्द गर्ने घोषणा गरेको छ ।