logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अनुदान कटौति भएपछि उखु किसान आन्दोलित


  • उज्यालो अभियान

मलंगवा, १८ साउन – अनुदान रकमलाई निरन्तरता दिन माग गर्दै उखु किसानले आन्दोलनको घोषणा गरेका छन् ।

सरकारले यो वर्षदेखि उखुको अनुदान रकमका लागि बजेट विनियोजन नगरेपछि किसानले आन्दोलनको घोषणा गरेका हुन् । उखु किसानले आन्दोलनको चेतावनीसहित आज तराईका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।

चिनी मिल रहेका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको केन्द्रीय उखु किसान सङ्घर्ष समितिका सह–संयोजक राजकुमार उप्रेतीले उज्यालो अभियानलाई जानकारी दिए । उप्रेतीका अनुसार सर्लाहीमा नेपाल उखु उत्पादक महासङ्घकै नेतृत्वमा र अन्य जिल्लाहरुमा उखु उत्पादक सङ्घको नेतृत्वमा ज्ञापन पत्र बुझाउने काम गरिएको छ ।

उखु खेती हुने जिल्लाका किसानले साउन २० गते आ–आफ्नो जिल्लामा रहेको चिनी मिल अगाडि टायर बालेर प्रदर्शन गर्ने भएका छन् । आफूहरुको मागका सम्वन्धमा साउन महिनाभर सुनुवाई नभए आगामी भदौ ८ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा गएर धर्नामा बस्ने निर्णय भएको केन्द्रीय उखु किसान सङ्घर्ष समितिका संयोजक श्यामबाबु रायले बताए ।

उखु किसानले उखुको अनुदानलाई निरन्तरता दिन, गत क्रसिङ सिजन २०८१/८२ मा बिक्री गरेको उखुको अनुदानबापत पाउनुपर्ने एक अर्व ६० करोड रुपियाँ तुरुन्त भुक्तानी गर्न र उखुको मुल्य तय गर्दा उखु किसान, उद्योगी र सरकारबिच छलफल गरेर मात्रै मुल्य निर्धारण गर्न माग गरेका छन् ।

१६ वर्षदेखि पाउँदै आएको उखुको अनुदान अहिले आएर कटौति हुने भएपछि अगुवा उखु किसान र विभिन्न राजनीतिक दलले प्रधानमन्त्री, कृषि मन्त्रीलगायतलाई भेटेर अनुदान रकमलाई निरन्तरता दिन माग राखिसकेका छन् ।