लालबन्दी, ०६ साउन – प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३ औं स्मृति दिवस आज सर्लाहीसहित देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विपी स्मृति दिवसको अवसरमा सर्लाहीमा नेपाली कांग्रेस र उसका भातृ संघसंस्थाले आज विभिन्न कार्यक्रम सम्पन्न गरेका हुन् । नेपाली कांग्रेस क्षेत्र नं. १ ले ईश्वरपुर ६ बयलवासस्थित नारायण बहुमुखी क्याम्पस परिसरमा वृक्षरोपण गरेको क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीले जानकारी दिए । लुंगेलीकै अध्यक्षता तथा पूर्व जिल्ला सभापति लक्ष्मण रायको प्रमुख आतिथ्यता, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, संविधान सभा सदस्य रामचन्द्र चौधरी, पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवारलगायतको आतिथ्यतामा विपी स्मृति दिवस मनाइएको हो ।
यता लालबन्दीमा नेपाल विद्यार्थी संघ (नेविसंघ) जनज्योति बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा डुमडुमेस्थित राधाकृष्ण गुरुकुलका बटुकलाई शैक्षिक सामग्री वितरण गरिएको नेविसंघ क्याम्पस इकाइ समितिकी उपसभापति प्रकृति खनालले जानकारी दिए । नेविसंघ क्याम्पस इकाइ समितिका सभापति निर्मल अधिकारी (सफल) को अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै बसबरिया गाउँपालिकास्थित भवानीपुरमा कांग्रेस गाउँपालिका समितिका सभापति लालबाबु महतोको अध्यक्षता तथा मधेश प्रदेश समितिका उपसभापति वीरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा स्वर्गिय विपी कोइरालाको तस्वीरमा माल्र्यापण गर्दै स्मृति दिवस मनाइएको कांग्रेस नेता गजेन्द्र साहले बताए ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको वि.सं.२०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म वि.सं.१९७१ भदौ २४ गते भएको हो ।
वि.सं.२०१५ को संसदीय निर्वाचनपछि वि.सं.२०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । उनका दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।
वरिष्ठ अधिवक्ता स्व. गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, वि.सं.२०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।
जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी वि.सं.२०१५ को आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रीत्वकालमा उहाँले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’भन्ने भूमिसुधार कार्यक्रम अगाडि बताए ।
वि.सं.२०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । वि.सं.२०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए ।
भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रर्वाह नगरी वि.सं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि देशको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।