logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पानी पर्न नसक्दा रोपाइँ हुन सकेन, ब्याड छिप्पियो


  • उज्यालो अभियान

पानी पर्न नसक्दा डढेको धानको बीउ ।

मलंगवा, ०२ साउन – पर्याप्त आकाशे वर्षा नभएर रोपाइँ हुन नसक्दा सर्लाहीमा धानको ब्याड छिप्पिन थालेको छ ।

मलंगवा नगरपालिका–११, गम्हरियाका किसान जीमान रायले पर्याप्त वर्षा नहुँदा रोपाइँ गर्न नपाएको गुनासो गरेका छन् । रोपाइँका लागि खेतको आलीभित्ता खनेर तयार पार्नुभएका साहलाई वर्षाको अभावमा रोपाइँ गर्न नपाएर धानको ब्याड छिप्पिएर जाँदा उत्पादन घट्ने चिन्ता छ । दर्के झरी परेर तीव्र रुपमा धान रोपाइँ हुनुपर्ने मधेशमा हावा चल्ने र घाम लागेर खडेरी लम्बिँदै जाँदा किसान निराश छन् ।

मौसम पूर्वानुमान महाशाखाले विगत तीन दिनदेखि मधेश प्रदेशमा वर्षाको आंकलन गरे पनि यहाँ हावा चल्ने र मौसम धुम्मिने मात्रै भइरहेको छ । कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार जिल्लामा ४४ हजार १७५ हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये असार सक्किँदासम्म ४० प्रतिसतको हाराहारीमा रोपाइँ भएको कार्यालयकी सूचना अधिकारी एवं बागवानी विकास अधिकृत सीमा कार्कीले जानकारी दिईन् ।

कार्कीका अनुसार अहिले सिँचाई सुविधा रहेको क्षेत्रमा मात्रै धान रोपाइँ भइरहेको छ । पूर्णरुपमा आकाशे वर्षाका भर रहेको क्षेत्रमा रोपाइँ गर्न पानीको अभाव रहेको कार्कीले बताउनुभयो ।

सर्लाहीमा ५२ हजार चार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा रहेको छ । जिल्लाको पश्चिमी र दक्षिणी भेगमा बागती र मनुष्मारा खोलाबाट सिँचाई पुगे पनि उत्तरी र पूर्वी भेगमा आकाशे वर्षाको भर रहेको छ ।

पप्पसेट र बोरिङ चल्ने स्थानमा वैकल्पिक माध्यम प्रयोग गरेर सिँचाई गर्दा लागत बढ्ने किसानको भनाइ छ ।