logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा प्रदेश सरकारको झण्डै १ अर्ब रुपैंया खर्च हुन सकेन


  • उज्यालो अभियान

टंक बहादुर क्षेत्री/मलंगवा, ०१ साउन – आर्थिक वर्ष २०८१/०८२ मा मधेश प्रदेश सरकारबाट सर्लाहीस्थित २० वटा पालिकासहित प्रदेशअन्तर्गतका विभिन्न कार्यालयहरुमा प्राप्त बजेटमध्ये झण्डै १ अर्ब रुपैंया खर्च हुन नसकेर फिर्ता (फ्रिज) भएको छ ।

प्रदेश सरकारबाट चालू र पूँजीगततर्फ विनियोजित ५ अर्ब ५ करोड ५ लाख २५ हजार ३१४ रुपैंयामध्ये ९९ करोड ९६ लाख ६० हजार ४१३ रुपैंया ३ पैसा खर्च हुन नसकेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालय चन्द्रनिगाहपुरका अनुसार सर्लाहीका पालिका सहित विभिन्न कार्यालयहरुमा पूँजीगत (विकास बजेट) तर्फ विनियोजित ३ अर्ब ७८ करोड ७५ लाख २२ हजार ७०० रुपैंयामध्ये ६९ करोड ९ लाख ७५ हजार ३८० रुपैंया २ पैसा खर्च हुन सकेन । त्यस्तै चालूतर्फ विनियोजित १ अर्ब २६ करोड ३० लाख २ हजार ६१४ रुपैंयामध्ये ३० करोड ८६ लाख ८५ हजार ३२ रुपैंया ८३ पैसा फ्रिज भएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय चन्द्रपुरका प्रेम पोखरेलका अनुसार २० वटा पालिकाहरुलाई चालूतर्फ आएको ४४ करोड ६२ लाख ३५ हजार रुपैंयामध्ये ४ करोड ८२ लाख ७८ हजार ४४० रुपैंया खर्च हुन सकेन । त्यस्तै प्रदेश सरकारबाट सबैभन्दा बढी पूर्वाधार विकास कार्यालयमा पूँजीगततर्फ विनियोजित १ अर्ब ४३ करोड ३३ लाख ६९ हजार रुपैंयामध्ये २६ करोड २२ लाख ४५ हजार ९४२ रुपैंया ५९ पैसा फ्रिज भएको छ । उक्त कार्यालयले चालूतर्फ विनियोजित १ करोड ७४ लाख ६१ हजार रुपैंयामध्ये ८६ लाख २६ हजार १४८ रुपैंया ८ पैसा खर्च गर्न सकेन । त्यसैगरी सामाजिक विकास इकाइ कार्यालय मलंगवामा पूँजीगततर्फ प्राप्त २७ करोड १८ लाख रुपैंयामध्ये ५ करोड २७ लाख ७८ हजार ७९७ रुपैंया तथा चालूतर्फ २० लाख रुपैंयामध्ये ७ लाख ८९ हजार ४२५ रुपैंया ३८ पैसा फ्रिज भएको छ ।

त्यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई पूँजीगततर्फ प्राप्त ५२ करोड ६३ लाख ९० हजार रुपैंयामध्ये ९ करोड १७ लाख ५८ हजार ७९५ रुपैंया फिर्ता भएको छ भने चालूतर्फ प्राप्त ३ करोड १ लाख ६० हजार रुपैंयामध्ये ६५ लाख २९ हजार ६७१ रुपैंया २३ पैसा खर्च हुन सकेन । त्यसैगरी भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कर्मैयाले पूँजीगततर्फ पाएको ४१ करोड ४ लाख रुपैंयामध्ये २ करोड ९५ लाख ४० हजार ३०२ रुपैंया तथा चालूतर्फ १ करोड ६६ लाख ६६ हजार रुपैंयामध्ये ७७ लाख ३ हजार ६७८ रुपैंया ७४ पैसा फ्रिज भयो ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन मलंगवाले पूँजीगततर्फ पाएको ३९ करोड ६० लाख २७ हजार रुपैंयामध्ये ३ करोड २२ लाख २४ हजार ४४२ रुपैंया ६१ पैसा फ्रिज भएको छ भने चालूतर्फको १ करोड ७१ लाख १५ हजार रुपैंयामा ४० लाख ४४ हजार १६५ रुपैंया ५ पैसा खर्च भएन । स्वास्थ्य कार्यालय मलंगवाले पँुजीगततर्फ पाएको १९ करोड ४३ लाख ५० हजार रुर्पैयामध्ये ५ करोड ३६ लाख १० हजार ३१० रुपैंया प्रिज भएको छ भने चालूतर्फ ७ करोड ८४ लाख ३७ हजार रुपैंयामध्ये १ करोड ५६ लाख ५७ हजार ८३२ रुपैंया २० पैसा खर्च हुन सकेन ।

त्यसैगरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई पूँजीगततर्फ विनियोजित १० करोड रुपैंयामध्ये ५ करोड २२ लाख ४६ हजार ९८५ रुपैंया फ्रिज भएको छ भने चालूतर्फ २ करोड ८५ लाख ८८ हजार रुपैंयामा १७ लाख ६९५ रुपैंया २८ पैसा फिर्ता गयो । शिक्षा विकास इकाई सर्लाहीले पूँजीगततर्फ पाएको ३० करोड ९६ लाख ५० हजार रुपैंयामध्ये ५ करोड ७४ लाख २१ हजार ५८७ रुपैंया फ्रिज भयो भने चालूतर्फ विनियोजित २ लाख ४९ हजार रुपैंया नै खर्च हुन सकेन ।

त्यस्तै डिभिजन वन कार्यालय सर्लाहीलाई विनियोजित चालूतर्फ १९ करोड ४५ लाख ३७ हजार रुपैंयामा ९ करोड २१ लाख १४ हजार ७३५ रुपैंया ६० पैसा फिर्ता भयो भने पूँजीगततर्फ ७ करोड ९ लाख १२ हजार ७०० रुपैंयामध्ये १ करोड ६५ लाख २६ हजार ९४४ रुपैंया फ्रिज भएको छ । कृषि ज्ञान केन्द्र सर्लाहीलाई विनियोजित चालूतर्फ १० करोड ४६ लाख ७६ हजार ५०० रुपैंयामा ६ करोड ४२ लाख ३९ हजार ४०८ रुपैंया खर्च हुन सकेन भने पूँजीगततर्फ १४ लाख ४० हजार रुपैंयामा ११ लाख ६२ हजार रुपैंया फिर्ता भएको छ ।

त्यसैगरी प्रादेशिक अस्पतालका लागि चालूतर्फ प्राप्त १५ करोड ६२ लाख ६८ हजार रुपैंयामध्ये २ करोड ४९ लाख ७९ हजार ९२८ रुपैंया १० पैसा खर्च हुन सकेन । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय सर्लाहीलाई पूँजीगततर्फ प्राप्त ३ करोड १२ लाख रुपैंयामध्ये २ करोड ७३ लाख ३२ हजार रुपैंया फ्रिज भएको छ भने चालूतर्फ ३ करोड ७२ लाख ७० हजार रुपैंयामा ८२ लाख २३ हजार ८१७ रुपैंया ८८ पैसा खर्च हुन सकेन ।

त्यसैगरी घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीलाई चालूतर्फ विनियोजित १ करोड ८० लाख ३७ हजार ६४० रुपैंयामा १८ लाख ७७ हजार ६७७ रुपैंया ५६ पैसा तथा पूँजीगततर्फको ९० लाख १० हजार रुपैंयामध्ये १६ लाख २८ हजार ८१४ रुपैंया फ्रिज भएको छ । यातायात व्यवस्था कार्यालय मलंगवालाई प्राप्त पूँजीगततर्फ १ करोड २१ लाख ७४ हजार रुपैंयामा ५४ लाख ९० हजार १८९ रुपैंया र चालूतर्फ १ करोड ८६ लाख ७७ हजार ९३४ रुपैंया मध्ये २८ लाख ९७ हजार १३१ रुपैंया ५५ पैसा फिर्ता भयो ।

त्यस्तै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सागरनाथ (साबिकको सागरनाथ वन विकास परियोजना) लाई चालूतर्फ विनियोजित ५ करोड रुपैंयामा १ करोड २५ लाख ८१ हजार ८९१ रुपैंया ८१ पैसा खर्च हुन सकेन भने पूँजीगततर्फ प्राप्त १ करोड रुपैंयामध्ये ५८ लाख ९६ हजार २४८ रुपैंया फ्रिज भएको छ । सन्तम अल्ममाई रामनारायण यादव नर्सिङ कलेज मलंगवालाई चालूतर्फ प्राप्त २ करोड ३८ लाख २६ हजार रुपैंयामा ३८ लाख ९१ हजार २६६ रुपैंया ६० पैसा खर्च हुन सकेन भने पूँजीगततर्फ २० लाख रुपैंयामध्ये ४ हजार ५६५ रुपैंया फिर्ता भयो ।

त्यसैगरी बलरा पोलिटेक्निक इन्स्टिच्यूट बलराका लागि चालूतर्फ विनियोजित १ करोड १५ लाख १३ हजार रुपैंयामा २९ लाख १२ हजार ९ रुपैंया ८० पैसा खर्च हुन सकेन भने पूँजीगततर्फको ३८ लाख रुपैंयामध्ये ७ लाख २५ हजार ८८८ रुपैंया फ्रिज भएको छ । त्यस्तै प्रदेश इकाई कार्यालय सर्लाही/रौतहटका लागि चालूतर्फ विनियोजित १ करोड १२ लाख ८५ हजार ५४० रुपैंयामध्ये १३ लाख ८८ हजार ११८ रुपैंया १५ पैसा तथा पूँजीगततर्फ प्राप्त १० लाख रुपैंयामा १ हजार ८५ रुपैंया खर्च हुन सकेन ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार असार महिनामा भुक्तानी हुनुपर्ने खर्च कम्तीमा ७ दिनअघि नै गर्नुपर्ने व्यवस्था रहेकाले यसवर्ष सरकारी कार्यालयहरूको असार २५ गते राती १२ बजेपछि सबै भुक्तानी रोकिएको कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवाका प्रमुख कोष नियन्त्रक पुष्प प्रसाद गुरागाईंले जानकारी दिए । प्रदेश सरकारका मन्त्रालयहरुबाट जिल्ला स्थित कार्यालयलाई बजेटको सिलिङ नै वैशाखतिर मात्र पठाउने गरिएकाले उपभोक्ता समिति गठन, टेण्डर आव्हान, सम्झौता लगायत प्रकृया गर्दा विनियोजित बजेट खर्च गर्न नसकिने अवस्था रहेको एक कार्यालय प्रमुखले जानकारी दिए ।

योपनि पढ्नोस्

सर्लाहीमा संघीय बजेटबाट कुन पालिकाले कति खर्च गरे ?

सर्लाहीमा चालू र पूँजीगततर्फ १७ अर्ब ४५ करोड खर्च, १ अर्ब ३६ करोड ‘फ्रिज’